१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो।

श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसर पारेर समितिलाई पुरस्कार दिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई सो पुरस्कार हस्तान्तरण गरे। पुरस्कारको राशी नगद दुईलाख २२ हजार २ सय २२ रुपैयाँ सहित ताम्रपत्र, दोसल्ला र पदक रहेको छ।  

पुरस्कृत संस्था विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्ति पीठहरु मध्येको एक विन्ध्यबासिनी मन्दिरको संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिदै आएको छ। नेपाली र भारतीयको पुजनीय केन्द्रको रुपमा रहेको विन्ध्यवासिनी मन्दिर हिन्दु मात्र नभई गैरहिन्दु समेतको आस्थाको प्रतिकको रुपमा रहेको छ। विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण र विकाससँगै सामाजिक सेवालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्दै आएको छ। 

विन्ध्यबासिनी धार्मिक विकास अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यबासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विन्ध्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन्। सिमितिले विन्ध्यवासिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासिय रुपमा संचालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ। 

विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास अन्तर्गत प्राकृतिक चिकित्सालयपनि सञ्चालन गर्दै आएको छ। सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र जेष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालन गरिएको छ। धर्म साँस्कृतिक संरक्षणका लागि धार्मिक कथा वाचन संचालन गर्ने गरिएको छ। टाढा टाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेको भन्दै यस वर्षको श्रीपती समाज सेवा पुरस्कार प्रदान गरिएको गुठीका सदस्य सचिव नवराज कोईरालाले जानकारी दिए।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन्।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रीपती कोईराला गुठी समाज सेवाको क्षेत्रमा अब्बल नाम रहेको बताए। ईतिहासलाई गौरवका साथ लिन नसक्ने हो भने वर्तमान गौरव गर्न लायक हुँदैन,’ उनले भने, ‘तर आजको पुस्ता अनुदार छ। आजको पुस्ताले हिजोको दुःख नदेखेर हो कि? नबुझेर हो कि? वा हामीले नबुझाएर हो। आज एकलकाँटेपन व्यक्ति, परिवार र समाजमा नै देखिदैछ । यसो हुँदाहुँदैपनि श्रीपती कोईराला गुठी भने समाजमा उदाहरणीय बनेर समाजसेवा गरेर ख्याती कमाईरहेको छ।’

मेयर आचार्यले पुरस्कृत संस्था विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन र सौन्दर्यकरणसँगै सामाजिक काममा पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरे। विन्ध्यबासिनी मन्दिर आज धार्मिक क्षेत्र मात्र नभई पर्यटकीय केन्द्र बनेको छ,उनले भने,‘यो सब समितिको अहोरात्र खटाईको परिणाम हो।’ साधारण सभाको अवसरमा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ठ ठहरिएका विद्यार्थीहरुलाई श्रीपती विद्या पदक प्रदान गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।

श्रीपती कोईराला गुठी १८६४ सालमा जन्मेका श्रीप्रसाद कोईरालाको नाममा स्थापित संस्था हो। विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा दिएको पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोईरालाले जानकारी दिए।

 

प्रकाशित: २१ पुस २०८० १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App