४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागी पीडितलाई राहत वितरण सुरु

राहत वितरण वितरण गर्दै रेडक्रसकर्मी टोली । तस्विरः महेश्वर

उदयपुरको कटारी नगरपालिकाको पहाडी गाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेको छ। कटारी ११ को हर्देनीमा बिहीबार साँझ भएको आगलागीमा परी स्थानीय रुद्रबहादुर विकको घर र त्यहाँ रहेका धनमाल नष्ट भएका हुन्।

आगलागीका कारण घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजात र नगदसमेत जलेका थिए। आगलागपछि सामान निकाल्ने क्रममा विकपत्नी मीनासमेत घाइते भएकी थिइन्। ३५ वर्षीय मीनाको शुक्रबार बिहान कटारी अस्पतालमा उपचार भइरहेको छ । डा. गौरव साहका अनुसार मीनाको हात र खुट्टा जलेका छन्। उनी खतरामुक्त रहेकी छन्।

आगलागीबाट २० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीको अनुमान छ। स्थानीय प्रहरी चौकी र इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले गाउँलेको सहयोगमा दुई घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पीडित परिवारलाई कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा कटारीको संयुक्त टोलीले शुक्रबार प्रारम्भिक राहत वितरण गरेको छ। 

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभास राई, कटारी ११ का वडाध्यक्ष अनन्त हायु, ३ का वडाध्यक्ष पुस्कर खडका र ७ का वडाध्यक्ष सुविन ढुंगानासहितको टोलीले विकको घरमै पुगेर राहत वितरण गरेको हो।

नगरपालिका, उदयपुर उद्योग बाणिज्य संघ र प्रशासन, प्रहरीको संयुक्त पहलमा तत्कालका लागि केही राहत दिइएको र थप सहयोग गर्ने योजना रहेको मेयर श्रेष्ठले बताए।

यसैबीच रेडक्रस उपशाखा कटारीले पनि प्रारम्भिक राहत पीडित परिवारलाई दिएको छ। रेडक्रस शाखा गाईघाटले पठाएको सामग्रीसहित घटनास्थलमै पुगेको टोलीले राहत वितरण गरेको हो।

प्रकाशित: २१ पुस २०८० ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App