१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटमा एक युवक पक्राउ

रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं डिएसपी एलिजा गिरीले पछिल्ला विभिन्न समयमा पक्राउ परेका केही व्यक्तिहरूसँग गरिएको सूक्ष्म अनुसन्धानबाट खुलेका आधार प्रमाणका अनुसार छानबिन गर्दै जाँदा बुधवार साँझ ६ बजेको समयमा जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकमा थापिएको सुरक्षा चेकजाँचको क्रममा उक्त परिमाणमा नक्कली नेपाली रुपैयाँसहित यादवलाई पक्राउ गरिएको जानकारी गराएकी छन्।

डिएसपी गिरीले यादवबाट बरामद भएको रकम तथा अन्य विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएकी छन्।कानुनअनुसार मुद्रासम्बन्धी कसुरअन्तर्गत  अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीको भनाइ छ।

पक्राउ परेका यादवको साथबाट पाँच थान विभिन्न बैंकको एटिएम कार्ड, १६ लाख ६५ हजार रकम उल्लेख भएका तिन थान चेक र एक थान ओप्पोको मोबाइल पनि बरामद भएको प्रहरीको भनाइ छ।

रौतहटमा विभिन्न समयमा पक्राउ परेका नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेका व्यक्तिहरूसितको सूक्ष्म अनुसन्धानको क्रममा पहिलो पटक ठूलो परिमाणमा नेपाली रुपैयाँसहित यादव पक्राउ पर्न सफल भएको हो।

गत साउन २१ गते शिव नगरबाट पक्राउ परेका गरुडा नपा ५ का २२ वर्षीय रामपृत साह र कटहरिया नपा ९ का अनिल साह तथा सर्लाही त्रिभुवन गापा ४ का १९ वर्षीय दिपक दाससँग एक सय भारतीय नक्कली नोट चार थान, गत कार्तिक १० गते गरुडा ४ बाट एक हजारको नेपाली नोट ७ थानसहित परोहा नपा २ का ५८ वर्षीय बच्चेलाल साह र मंसिर ३० गते भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला द्वारपा थाना सखहलिया १ का ३८ वर्षीय सुरेन्द्र ठाकुरलाई चन्दपुर नपा १० बालचनपुरबाट एक हजारको नेपाली नक्कली नोट २० थानसहित पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा यादवलाई १८ लाख ४३ हजार नक्कली नेपाली नोटसहित पक्राउ गर्न सफल भएको जानकारी डिएसपी गिरीको दाबी रहेको छ।

पछिल्लो विभिन्न समयमा नक्कली नोटसहित पक्राउ परेका व्यक्तिहरूसँग प्रहरीले सूक्ष्म अनुसन्धान गर्न क्राइम ब्रान्चलाई परिचालन गरेको थियो। क्राइम ब्रान्चले अनुसन्धान अधिकृतसहित विभिन्न स्थानमा प्रहरी परिचालन गरेर रौतहटमा पहिलो पटक ठूलो परिमाणमा नक्कली नोट बरामद गर्न सफल भएको गिरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले यस्ता नोटहरूको छपाई लगायतका सम्पूर्ण कागजातहरू सीमा पारी भारतमा गरिने हुँदा यसबाट नेपाली अर्थतन्त्रमा पर्ने प्रतिकूल असरलाई निरुत्साहित गर्न काउन्टर पार्टसका सुरक्षा अधिकारीसँग समन्वय गरेर अपराधलाई न्यूनीकरण गर्ने अभियानमा सक्रिय रहेको बताएका छन्।

प्रकाशित: १९ पुस २०८० १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App