२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

लहान – सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको रक्तश्राव नरोकिएपछि घटना तीन दिनपछि आज सार्वजनिक भएको हो। उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने, “बोल्नसमेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन्।” पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन्।

आरोपी ठाकुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। फरार अभियुक्त ठाकुरविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको एसपी कोइरालाले बताए।

घटनाको सूचना पाएलगत्तै आरोपी ठाकुरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ भने अभियुक्तलाई भगाएको आंशकामा बाबु र दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको उनले बताए।

अपहरित बालक सकुशल मुक्त

यसैबीच अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

शनिबार दिउँसो ३ः३० बजेतिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिषराय कुर्मीलाई आज साँझ ७ः३० बजेतिर प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका २४ बाट मुक्त गराउन सफल भएको हो।

बालकलाई अपहरण मुक्त गराउने क्रममा अपहरणमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–२४ निवासी मनोज महतो लौनियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिए।

बालकको अपहरण भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनुषा प्रहरीसँग समन्वय गरी बालक कुर्मीलाई सकुशल मुक्त गराउन सफल भएको डीएसपी ठकुरीले बताए। रासस

प्रकाशित: २७ माघ २०७४ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App