कसैलाई केही फलिफाप भयो भने भनिन्छ, खुदो पल्टियो। तर साँच्चीकै खुदो कसरी पल्टिन्छ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ। उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ। कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन रहेको छ। अझै खुदो पकाउने चलन हराएको छैन।
पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो। कहिलेदेखि उखु खेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन्। मालेपाटन र ढोडबेसीँका करिब ८० परिवारले २ सय रोपनीमा उखु खेती गर्दै आएका छन्।
त्यही उखु पेलेर बर्सेनि खुदो पकाएर बेच्छन्। पुस पन्ध्र र माघे सङ्क्रान्तिमा खुदो खाने चलन पनि छ। अनदी चामलको लट्टे पहिलापहिला खुदो हालेर गुलियो पारिन्थ्यो। माघे सङ्क्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ। त्यसैले यो मौसम उखु र खुदोको मौसम हो। बीउ रोपेको एक वर्षमा उखुको लाँक्रा काट्न ठिक्क हुन्छ। लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ। ५ घण्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ। यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे। दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो। पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन्।
मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउँछन्। दुई ठाउँमा गरेर करिब २ सय रोपनीमा उखु खेती हुँदै आएको छ सिँचाइको सुविधा नभएकोले यस क्षेत्रका बासिन्दाले उखु खेती गर्न थर्न थालेको र उखु खेतीकै कारण गाउँको नाम नै ढोडबेसीँ रहन गएको धेरैको बुझाइ छ।
पहिलापहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तिकै समस्या थियो तर अहिले गाउँबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ। उनले पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भएपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताए।
यो वर्ष गाउँबाटै प्रतिलिटर ४ सयका दरले खुदो बिक्री भइरहेको छ। यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्दछन्। तर गाउँका युवाको विदेश मोह र झन्झटिलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखु खेतीबाट हात झिक्नेहरू बढ्दै गएको स्थानीय बताउँछन्।
स्थानीय महादेवप्रसाद धमलाले पहिला धेरै राम्रो भएको र अहिले मानिसहरू धेरै बाहिर जाने क्रमले काम गर्ने युवा जनशक्ति नहुँदा उखु उत्पादन कम हुँदै गएका बताए उनले सरकारले कुनै राहत नदिएको गुनासो गरे।
उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न किसानहरूलाई चिन्ता भने छैन। घरगाउँमा एकाध गाँज उखु भए पनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरु गाउँमा खेती भएको छैन। मालेपाटन र ढोडबेसीँ मात्रै एक्लो गाउँ हो। रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन्।
प्रकाशित: १७ पुस २०८० ०६:१३ मंगलबार