४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पश्चिममा चिसोले जनजीवन प्रभावित

चिसो बढेसँगै आगो ताप्दै नेपालगन्ज–१८ स्थित लग्दहवाका स्थानीय। तस्बिरः गणेश/नागरिक।

पश्चिम तराईका जिल्लामा बिहीबार साँझदेखि अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको हो।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदलीसमेत भएको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। पश्चिम तराईका स्थानमा हुस्सु र कुहिरो लागेको छ।

पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानमा हल्का हिमपातसमेत भएको छ। चिसोका कारण बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारी साधन कम चलेका छन्।

नेपालगन्जका केही स्थानमा फाट्टफुट्ट शीतलहरसमेत चलेको छ। नेपालगन्जमा जारी महोत्सवमा समेत आइतबार दर्शकको संख्या समेत कम भयो।

‘शुक्रबार साँझदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको छ,’ नेपालगन्जका सुशील साईले भने, ‘चिसोले गर्दा घर बाहिर निस्किनै सकिएको छैन।’

यहाँका स्थानीय अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन्। आगो बालेर न्यानो लिइरहेका छन्। ‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसैले घरमा आगो तापेर बसेको छु।’

चिसोले गर्दा ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन्। उनीहरू काममा जानै पाएनन्। ‘चिसोले गर्दा काममा जान पाइएन,’ मजदुर जीवन विकले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ। केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ।’

दैनिक ज्यालादारी काम गर्न पहाड तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका लागि जिल्लामा सर्वसाधारण झर्ने गर्छन्। दिनभरि एक पटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्की ज्यामी कमला सुनारले बताइन्।

‘अत्यधिक चिसोले काममा जान पाइएन,’ उनी भन्छिन्, ‘एक दुई घण्टा घाम लागेको भए इँटा ‘लोडअनलोड’ गरेर केही पैसा कमाउन सकिन्थ्यो।’

त्यस्तै चिसोले गर्दा बालबालिका, वृद्ध वृद्धा र दीर्घ रोगीका बिरामीलाई समस्या बनाएको छ। नेपालगन्ज विमानस्थलबाट हुने दैनिक उडानसमेत प्रभावित भएका छन्।

प्रकाशित: १५ पुस २०८० १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App