१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘१० मिनेटमा नेपाल फनक्कै’

बागलुङमा महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनीमा तस्बिर नियाल्दै।तस्बिर: संगम/नागरिक

बागलुङ नगरपालिका-५ मालिकाका लक्ष्मीप्रसाद सापकोटालाई कालिका मन्दिर हेरेर सगरमाथासम्म पुग्न १० मिनेट लाग्यो। यो १० मिनेटको समयमा उनले नेपाल फनक्कै घुमे।

सातौं बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले उनलाई १० मिनेटमै नेपाल घुम्ने मौका दिएको हो। यो १० मिनेटको अवधिमा बागलुङको ढोरपाटनदेखि मुगुको रारासम्म हेर्न भ्याए। फेवातालको तस्बिर नियाल्दै गर्दा भेटिएका उनले भने, ‘यो ठाउँको छेउछाउमा त पुगेको छु, म पुग्दा त यस्तो देखिएको थिएन।’

माछापुच्छ्रे हिमाल फेवातालमा पौडिरहेको तस्बिरको दृश्यले उनलाई खुब लोभ्याइरह्यो।

सापकोटाले भने, ‘यो ठाउँमा अर्कोपटक फेरि जानुपर्ला। कति ठाउँहरू त म पहिले नै पुगिसकेको छु। कतिपय ठाउँमा भने यो तस्बिर हेरेपछि जान मन लागेको छ।’

बागलुङकै गलकोट दरबार, घाईघाट झरना, ढोरपाटन, तमानगाउँ, बुढाथोक गाउँ, निशेलढोर लगायतका ठाउँको तस्बिर हेरेपछि एक पटक पुग्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाए।

‘बागलुङको कालिका मन्दिर, पञ्चकोट, शालग्राम संग्रहालयहरू हामी पटक पटक पुग्ने गरेका ठाउँ हो, यो तस्बिर हेरेपछि अझ धेरै ठाउँ पुग्न बाँकी रहेछ भन्ने लागेको छ,’ उनले भने।

उनीसँगै भेटिएका डिलप्रसाद सापकोटाले ढोरपाटनको चरण क्षेत्रमा रमाइरहेका नाउर देखेर घोत्लिरहे। ‘नाउरको सिकार गर्न विदेशीहरू आउँछन् भन्ने सुनेको थिएँ, यस्तो हुने रहेछ, यसरी बस्दा रहेछन्,’ उनी भन्छन्।

गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ।

राजनीतिकर्मी कृष्ण केसीले प्रदर्शनीमा राखिएको तस्विरहरू आकर्षक र मोहक लागेको बताए।

‘हामी आफैं पुग्दा आँखाले देख्न नपाएका कुराहरू यहाँ तस्बिरमा हेर्न पाइयो,’ केसी भन्छन्, ‘हुन त हामी एकैछिन पुगेर हेरेर फर्कने भएर होला,’ केसीले भने, ‘फोटोग्राफरले त एउटै तस्बिरका लागि कैयौं समय गुजारेर खिचेका हुन्छन्। त्यसले गर्दा पनि निकै आकर्षक र आनन्ददायक पाएँ।’

सहकारी अभियानका लागि देश विदेशको दौडाहा गरिरहने रामबहादुर जिसीले देशका धेरै ठाउँहरूमा एकैपटक पुग्ने अवसर तस्बिर प्रदर्शनीले दिएको बताए।

 ‘सहकारी अभियान र अरू कामले पनि देशका धेरै ठाउँमा पुग्ने गरेको छु,’ उनले भने, ‘यहाँ तस्बिर हेर्दा कतिपय ठाउँको नजिकै पुगेर तस्बिरमा देखिएको ठाउँमा नपुगेको रहेछु भन्ने लागेको छ।’

बागलुङ महोत्सव २०८० को सन्दर्भमा आयोजना गरिएको तस्बिर प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव सुरु भएपछि दैनिक हजार बढिले फोटो प्रदर्शनीको अवलोकन गर्दै आएको तस्बिर प्रदर्शनीका संयोजक रूपेश सापकोटाले बताए।

‘फोटो हेर्नका लागि प्रवेश शुल्क लिएका छैनौं, दैनिक हजार जनाको हाराहारीमा अवलोकनका लागि आउनुहुन्छ,’ उनले भने, ‘निःशुल्क हेर्न पाउने र मन परेको तस्बिर किनेर लैजाने व्यवस्था पनि मिलाएका छौं।’

बागलुङ र विशेषगरी धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँ र मौलिक सांस्कृतिक परम्परा तथा जनजीवन समेटिएका तस्बिरहरू प्रदर्शन गरिएको सापकोटाले जानकारी दिए।

एक लाख ५० हजार रूपैयाँ लगानी गरेर तस्बिर प्रदर्शनीको आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका सदस्य एवं पर्यटन प्रवर्द्धन तथा कृषि प्रदर्शनी उपसमिति संयोजक अर्जुन चोखालले बताए।

‘विशेषरी तस्विरमा दख्खल राख्ने व्यवसायिक फोटोग्राफर र पत्रकार साथीभाइसँग सहकार्य गरेर हामीले यो व्यवस्थापन मिलाएका छौं,’ चोखालले भने, ‘फोटोको प्रिन्ट र यहाँको व्यवस्थापनका लागि बागलुङ उद्योग वाणिज्य संघले डेढ लाख रूपैयाँ लगानी गरेको छ।’

तस्बिरमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनले बताए।

तस्बिरमार्फत पर्यटकमा कौतुहलता पैदा गर्ने प्रयास गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल बताउँछन्।

‘अहिले घुमफिर गर्ने चलन धेरै नै बढेको छ, त्यसैले पनि हामीले विशेषरीगरी बागलुङ र धौलागिरि क्षेत्रको पर्यटकीय ठाउँहरूलाई फोकस गरेर यो प्रदर्शनी गरेका छौं,’ उनले भने, ‘धेरैभन्दा धेरैलाई फोटो देखाएर यहाँका पर्यटकीय ठाउँहरूको बारेमा मनमा खुल्दुली र जिज्ञासा जगाउन सकियो भने त्यसबाट भोलीको दिनमा बागलुङले लाभ लिनसक्छ भनेर हामीले निःशुल्क प्रवेश दिएका हौं।’

पर्यटनबाट बागलुङले ठूलो लाभ लिनसक्ने भएकोले सबै सरोकारवालाको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ छ। फोटो प्रदर्शनीमा एक दर्जन पत्रकार र फोटो पत्रकारहरूले खिचेका एक सय बढी तस्बिर राखिएका छन्। तस्बिरमा धार्मिक एवं पर्यटकीय ठाउँसंगै बागलुङको कला संस्कृति र परम्परा तथा जनजीवन समेटिएको छ।  

प्रकाशित: १५ पुस २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App