१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तमु ल्होसारमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतको रुपमा तमु जातिले मनाउने ल्होसार पर्वको अवसरमा सुस्वास्थ्य दीर्घायूको कामना गरेका छन्।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उनको शुभकामना सन्देशमा उल्लेख छ।

विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको सन्देशमा भनिएको छ।

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

उनले विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको पनि बताए।

उनको सन्देशमा भनिएको छ, ‘राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको भन्दै यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ। तसर्थ, देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी रहेको छ।’

प्रकाशित: १५ पुस २०८० ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App