भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ। सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म ग्रीष्मकालीन राजधानी थियो। गढीको तत्कालीन अवस्थाको भग्नावशेष छ, तर संरक्षण नहुँदा ऐतिहासिक तथ्य र प्रमाण नष्ट हुने खतरा बढेको बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी बताउँछन्।
उनले गढीको जग्गा यकिन गरेर तारबार गर्नुपर्ने बताए। “किल्लामा तत्कालीन समयमा बनेका संरचनाको नक्सा बनाएर डिपिआर बनाउन आवश्यक छ, पछि बनाइएका अतिरिक्त संरचना हटाउनुपर्छ’, उनले भने।
गढीभित्र र बाहिर लालीगुराँसका फूल लगाएर रमणीय बनाउनुपर्ने भन्दै उनले पर्यटक सहजरूपमा जान सक्नेगरी यातायातको प्रबन्ध गरिनुपर्ने बताए।
उनले गढी बाहिर पर्यटकका लागि आकर्षक पार्क, सुविधासम्पन्न होटललगायतका क्रियाकलाप गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए।
भरतपुर महानगरपालिका २९ मा पर्ने गढी समुद्र सतहबाट एक हजार एक सय ८४ मिटर उचाइको महाभारत शृंखला उच्च पहाडमा अवस्थित छ। नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट १० किलोमिटरको दूरीमा कविलासपुरगढी पुग्न सकिन्छ। यस गढीको दक्षिणतर्फ ठाडो भिर रहेको छ। उक्त गढीको पूर्व–पश्चिम धारिलो पहाड छ। पहाड निकै परसम्म फैलिएर रहेको छ।
भरतपुर महानगरपालिका २९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले कविलासपुरगढीको जीर्णोद्धार गरिने बताए।
उनले भने, ‘भरतपुर भ्रमण वर्षलाई केन्द्रित गरेर केही काम गर्ने तयारी थियो, भ्रमण वर्ष रोकिएपछि काम पनि अघि बढ्न सकेको छैन।’
उनले यस वर्ष वडाले केही बजेट विनियोजन गरेको भन्दै तारबार र गढी संरक्षणका काम गरिने बताए। उनले प्रदेश र संघ सरकारसँगको समन्वयमा गढीको संरक्षण गरिने बताए।
यस गढीमा तत्कालीन पाल्पाका राजा मुकुन्द सेनले सुरक्षा किल्ला निर्माण गरेका थिए। सेन राजाको शासनकालमा निर्माण भएको भए पनि यो गढी धेरै पछिसम्म प्रयोगमा आएको थियो।
गढीबाट अवलोकन गर्दा उत्तर–दक्षिण दुवैतर्फ धेरै परसम्मको भूभाग दृश्यावलोकन गर्न सकिन्छ। यहाँ पुरानो बंकर, तोप हान्ने यन्त्र, प्रशासनिक भवन, चौकी तथा कविलास दरबारका भग्नावशेष ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण सामग्री छन्।
–रासस
प्रकाशित: १२ पुस २०८० ०७:१४ बिहीबार