२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकको नैतिक दर्शनले राष्ट्रको हितमा मार्गदर्शन गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका छन्।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको बताए।

ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।

उनले सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको पनि बताए।

देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको उनले बताए।

जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको उनको भनाइ छ।

उनले भने, ‘आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिँदै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु।’

‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने राष्ट्रिय मूल नाराका साथ तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ।

प्रकाशित: ११ पुस २०८० ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App