१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ। विवरण संकलन जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार सात सय ८० पुगिसकेको छ। यो अझै थपिने क्रममा छ। यसअघि ५९ हजारभन्दा बढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्यांकमा झन्डै नौ हजार थपिएका हुन्।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले संख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए। सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो। त्यसपछि चार हजार थपिएर ३२ हजार हुन पुग्यो। बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो।

प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार ६ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए।

लाभग्राहीको संख्या बढिरहेसँगै उनीहरुका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्ने छ। अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि दुई अर्ब २६ करोड बढी केन्द्रबाट जिल्लामा रकम पठाइसकिएको छ। अझै लाभग्राही बढ्न सक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा चार अर्ब ७५ करोड आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पु¥याएको थियो। अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माण भइरहेको छ। –रासस 

प्रकाशित: ९ पुस २०८० ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App