२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पशुपतिनगर सीमा प्रशासनबाटै नागरिकता पाइने

पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय।

पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाट अब त्यस क्षेत्रका सेवाग्राहीले नागरिकता पाउने भएका छन्। गृह मन्त्रालयले यहाँको सीमा प्रशासनबाट नागरिकतासहितको सेवा विस्तार गरेको हो।

यस क्षेत्रका बासिन्दाले नागरिकता लिन सदरमुकाम पुग्नुपर्दा भौगोलिक हिसाबले धेरै असहज भइरहेको भन्दै सूर्याेदय नगरले पशुपतिनगरमै प्रशासनको सेवा माग गरेको थियो। नगरको गत भदौ १८ र जिल्ला प्रशासनको पनि त्यसै दिनको पत्रानुसार सेवा विस्तार गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जिल्ला प्रशासनलाई लेखेको पत्रमा पुस ४ को उपप्रधान तथा गृहमन्त्रीस्तरको निर्णयबाट पशुपतिनगरमा सेवा विस्तार भएको उल्लेख छ। सिडिओ इन्द्रदेव यादवले अब पशुपतिनगर सीमा प्रशासनबाट त्यस क्षेत्रका बासिन्दाले विशेषगरी नागरिकता, प्रतिलिपि नागरिकता र नाबालक परिचयपत्र लिनसक्ने बताए। ‘जनशक्ति भए जिल्ला प्रशासनसँग भएका अन्य अधिकार पनि सीमा प्रशासनमा प्रत्यायोजन गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि चाहिँ तत्काललाई जनशक्ति अभाव हुनसक्छ।’

जिल्लाका बासिन्दाले सदरमुकामस्थित जिल्ला प्रशासनबाट र देउमाई नगरपालिकास्थित सीमा प्रशासनबाट त्यस क्षेत्रका बासिन्दाले नागरिकता लिँदै थिए। अब पूर्वी क्षेत्रको सीमा प्रशासनबाट पनि नागरिकता वितरणका लागि बाटो खुला भएको हो।

सूर्याेदयका मेयर रणबहादुर राईले नगर क्षेत्रका बासिन्दाले नागरिकता लिन सदरमुकाम धाउनुपर्दा ज्यादै दुुःख पाइरहेको बताए। ‘भौगोलिक हिसाबले टाढा परेका कारण सदरमुकाममा नागरिकता लिन जान निकै कष्ट थियो,’ उनले भने, ‘नगरले सीमा प्रशासनबाटै यो सेवा दिन माग गरेपछि मन्त्रालयले सेवा विस्तार गरेकामा खुसी लागेको छ।’

प्रकाशित: ८ पुस २०८० १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App