१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मण्डल मृत्यु प्रकरण: ३ माथि किटानी, इलाका इन्चार्ज जिल्ला तानिए

धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।

मृतक मण्डलको कुटपिटमा संलग्न रहेको भन्दै सोही ठाउँका ४० वर्षीय शंकर ठाकुर, उनका छोरा राम ठाकुर र ज्वाइँ श्याम ठाकुरमाथि कर्तव्य जान मुद्दामा जाहेरी परेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रंञ्जन अवाले जानकारी दिए।

कुटपिटमा संलग्न शंकरलाई प्रहरीले घटना भएको दिन बिहीबार राती नै पक्राउ गरिसकेको छ भने उनका छोरा र ज्वाइँको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिहीवार राती भएको विवादमा तीनैजना मिलेर कुटपिट गर्दा मण्डलको मृत्यु भएको परिवारजनको आरोप छ।

बिहीवार राती शंकरले छोरा र ज्वाइँसँग मिलेर कुटपिट गर्नुका साथै इँटा प्रहार गरी मण्डलको टाउको फुटाएका थिए। मण्डल त्यहाँबाट भागी इलाका प्रहरी कार्यालय सुगानिकास पुगेका थिए, तर प्रहरीले उल्टै मृतक मण्डललाई कुटपिट गरेको भन्दै शुक्रबार विहानैदेखि स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरे। स्थानीयले प्रहरीमाथि आक्रोश पोख्दै इलाका प्रहरी कार्यालय तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकल पनि जलाएका थिए।  

प्रहरीले भीड नियन्त्रण गर्न दुई राउन्ड हवाई फायरसमेत गरेका थिए। प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन्। एकनजाको अवस्था सामान्य रहेको छ भने अर्का एकजना ३५ वर्षीय शिवशंकर मण्डललाई बायाँ हातमा गोली लागेको छ। उनको उपचार काठमाडौंंस्थित नेपाल प्रहरी अस्पतालमा भइरहेको छ।

कसरी भएको थियो घटना ?

हंसपसपुर नगरपालिका ५ कै अरुण मण्डलका १२ वर्षीय छोरा अमित मण्डलले दुईतीन दिनअघि आफ्नै सानीआमा (मौसी) घरबाट पाँच हजार रुपैयाँ चारी गरेका थिए। सानीआमाले मेरो घरबाट अमितले पाँच हजार रुपैयाँ चोरी गरेको अमितको घरमा जानकारी गराइन्। उनका अनुसार पछि सो रकमबारे सोधीखोजी गर्दा अमितले स्थानीय शंकर ठाकुरको १२ वर्षीय छोरा राम ठाकुरसँग मिलेर खाएको र १५ सय मात्रै बाँकी रहेको भनेपछि अमितका परिवारजनले बिहीवार साँझ रामलाई आफ्नो घर बोलाएका थिए।

स्थानीयका अनुसार राम र अमितलाई बाँधेर रुपैयाँ कहाँ राखेको छ भन्दै सोधपुुछ गरिरहेका बेला जयनरायण मण्डल पनि त्यहाँ पुगेका थिए। उनले भने, ‘तिमीहरूले रुपैयाँ कहाँ राखेका छौ? फिर्ता गरिदेऊ।’ त्यहीं रामले आफूलाई अरुणको घरमा बाँधेर राखेको आफ्ना बुबा शंकरलाई जानकारी गराएका थिए। शंकर ज्वाइँलाई लिएर त्यहाँ पुगेका थिए। पछि उनीहरूले मण्डलले नै रामलाई बाँधेर राखेको भन्दै उनीमाथि कुटपिट गर्न थाले।’

प्रत्यक्षदर्शीका अनुसार शंकर र उनका ज्वाइँले कुटपिट र इँटा प्रहार गर्दा मण्डलको टाउको फुट्यो। त्यसपछि मण्डल प्रहरीमा निवेदन दिन जाँदै छौं भन्दै इलाका प्रहरी कार्यालय सुगानिकास पुगेका थिए। प्रहरी कार्यालयमा दुई घन्टा राखेर भोलि छलफल गर्ने भन्दै मण्डललाई प्रहरीले एक छिमेकीको जिम्मा लगाएर घर पठाएको थियो।

घर पुग्नेबित्तिकै मण्डल बान्ता गर्न थाले र शरीर काप्न थाल्यो। यसपछि परिवारजनले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याए। उपचार गर्दागर्दै उनको मृत्यु भयो। प्रहरीले उपचारका लागि तत्काल अस्पताल पठाएको भए मण्डलको ज्यान जोेगिने स्थानीयको बुझाइ छ। यही विषयलाई लिएर स्थानीयले शुक्रवार बिहानैदेखि इलाका प्रहरी कार्यालय घेराउ गर्दै पथरबाजी गरेका थिए।

इलाका इन्चार्ज जिल्ला तानिए

मण्डल प्रकरणमा इलाका प्रहरी कार्यालयका सई बालमुकुन्द ठाकुरलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको छ। उनलाई शुक्रबार नै छानबिनका लागि जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

प्रकाशित: ८ पुस २०८० ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App