२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगरपालिकाको ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्कियो

बैतडीको दशरथचन्द नगरपालिकामा बाढीपहिराको पूर्वसूचना दिने ‘विपद् पूर्वसूचना प्रणाली’ गोदाममा थन्किएको छ। महाकाली नदीसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाका वडा नम्बर ६ र १० बाढीको जोखिममा भए पनि त्यहाँ कुनै पनि पूर्वसूचना प्रणाली जडान गरिएको छैन।

परीक्षणका लागि तीन वर्षअघि नगरपालिकाको छतमा जडान भएको पूर्वसूचना प्रणालीको उपकरण बिग्रेका कारण गोदाममा थन्किएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।

नगरपालिकाको वडा नम्बर ६ र १०, सिगास गाउँपालिकाको ढुंगाड, मेलौली नगरपालिकाको वडा नम्बर ८ र ९, विशालपुर र कोटीगाउँ डिलासैनी नगरपालिकाको गोकुलेश्वर, पुर्चौडी नगरपालिकाको मल्लादेही, दोगडाकेदार गाउँपालिकाको विजयपुरलगायतका क्षेत्र जिल्लामै बाढीपहिरोका कारण जोखिममा रहेका स्थान हुन्।

सेती नदीमा बढी बाढी आउने तर पूर्वसूचना प्रणाली नहुँदा सधैं त्रासमा बस्नुपर्ने सिगास गाउँपालिका–५ का स्थानीय नरेन्द्र चन्दले बताए। बर्सेनि बाढीले ढंगाड क्षेत्र प्रभावित हुने गरेको छ। दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा परी ६० जना फसेका थिए।

बाढीले डोटी र बैतडी जोड्ने पुलसहित एक सय ५० बिगाहाभन्दा बढी खेत डुबानमा परेको थियो। नदीले प्रत्येक वर्ष खेतीयोग्य जमिन बगाउँदै लगेको स्थानीय सुरेन्द्र साउदले बताए।

बाढीपहिरोको जोखिममा रहेका क्षेत्रमा स्थानीय तहले कुनै सतर्कता अपनाउन सकेका छैनन्। स्थानीय तहले जोखिमको ख्याल नगरी जथाभावी सडक खन्दा समस्या निम्तिएको मेलौली नगरपालिका ८ का स्थानीय धनीराम लुहारले बताए।

उनका अनुसार तलबाट सुर्नया नदीको बाढीले बर्सेनि कटान गर्ने र माथिबाट सडक निर्माण गर्दा बस्ती जोखिममा परेको छ। जोखिममा रहेको बस्तीमा  विपद् पूर्वसूचना प्रणाली जडान हुन सकेको छैन। पूर्वसूचना प्रणाली नहुँदा नदी किनारका स्थानीय जोखिममा पर्दै आएका छन्।

प्रकाशित: ५ पुस २०८० ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App