१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

वन अतिक्रमण गरेर स्थानीले रोपे ‘मकै’

रौतहटको वन तथा सार्वजनिक जग्गामा अतिक्रमण गरी यहाँका स्थानीयले खेती सुरु गरेका छन्। वन प्रतिनिधि र जनप्रतिनिधिको मिलेमतोमा वृन्दावन नगरपालिकाका स्थानीयवासीले सार्वजनिक जमिन कब्जा गरी खेती सुरु गरेका हुन्।

रामलाल वृन्दावन साझेदारी वन व्यवस्थापन समूहको सीमामा रहेको बागमती नदीतर्फको जमिनमाथि स्थानीयले कब्जा जमाउन थालेका हुन्। अतिक्रमित जमिनको अनौपचारिक रुपमा बिक्री पनि हुने गरेको पाइएको छ। एउटाले हड्पेको जमिन अर्कोलाई केही मानिसको रोहवरमा बिक्री हुने गरेको पाइएको हाे।

वृन्दावन नगरपालिकाका केही बलिया तथा टाठा बाठाको सहयोगमा वडा सदस्य ‘बच्चु’ भनिने रामगणेश प्रसाद पटेलको रोहोवरमा सार्वजनिक वनको बिक्री वितरण हुँदै आएको स्थानीयहरूले बताएका छन्।

कसैको जमिन बिक्री हुँदा वडा सदस्य पटेल नै रोहबरमा बसी दस्तुर असुल गर्ने गरेको स्थानीयको आरोप छ। उनले सो जमिनमा बाहिरबाट आएका मानिसहरूसँग पैसा लिएर बसाउन पनि सहयोग गर्ने गरेको स्थानीयहरूको भनाइ छ।

उनकै अगुवाइमा सरकारी वन क्षेत्रमा पर्खाल लगाइनुका साथै गुम्बा पनि निर्माण गरिएको छ। 

पटेलले सबै निर्माणमा अनियमितता गरेको र सरकारी जमिन हड्पन सहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।

अख्तियारबाट छानबिनको लागि वन कार्यालयमा पत्राचार गरिएको भएता पनि वन कार्यालयकै कर्मचारीको मिलेमतोसमेतमा वनको सयौँ बिगाहा जमिन अतिक्रमण भएको हुँदा वन कार्यालयले खासै छानबिन गरेको देखिँदैन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट वन कार्यालयमा वडा सदस्य पटेल र निजको अगुवाइमा  निर्माण पर्खाल तथा नगरपालिकाबाट भएको गुम्बा निर्माणको छानबिनको लागि पत्राचार गरिएकोमा वन कार्यालयले पनि पटेललाई पत्राचार गरी औपचारिकता मात्र पूरा गरेको थियो।

वनको फडानी भएको र नदीको उकासको खाली जमिनमा खेती गर्न, गाईबस्तुको लागि गोठ बनाउन, टहरा बनाउन तथा घेराबेरा गरी हड्पन कोही कसैले रोकटोक नगरेपछि बयरघारी क्षेत्रमा भूमिहीन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल–झाडी, खरघारी फाँडेर धमाधम खेत बनाउन थालेका छन्। अतिक्रमित क्षेत्रमा अहिले तोरी, मकै, गहुँ तथा मुसुरोको खेती गरिएको छ।

सरकारी जमिन तीव्र रूपमा अतिक्रमण भइरहँदा समेत कुनै निकायले ध्यान नदिएको सरोकारवाला बताउँछन्। अतिक्रमित क्षेत्रभन्दा करिब २ किलोमिटरमा सब डिभिजन वन कार्यालय रहेको छ। कार्यालयका कर्मचारी भने अतिक्रमित क्षेत्रमा पुगेर मात्र फर्कने गरेका छन्।

जनशक्ति अभावका कारण अतिक्रमित क्षेत्रको संरक्षण गर्न नसकेको सव डिभिजन कार्यालयका प्रमुख अनिल कुमार महतोले बताए। डिभिजन वन कार्यालयबाट अतिक्रमणको प्रतिवेदन माग भएको र प्रतिवेदन बनाउने क्रममा रहेको महतोले सुनाए।

संरक्षण गर्नुपर्ने ठाउँमा अतिक्रमण बढ्दै जानु दुखद भएको वृन्दावन नगरपालिका-२ का वडाध्यक्ष सिकेन्द्र पटेल बताउँछन्। डिभिजन वन कार्यालय रौतहटलाई ठोस कदम चाल्न वडाध्यक्ष पटेलले माग गरेका छन्।

डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्र मिश्रले अतिक्रमण हटाउन आफूहरू सक्रिय रहेको दाबी गरेका छन्। सो क्षेत्रको अतिक्रमण हटाउन सबैको साथ आवश्यक रहेको डिएफओ मिश्रको भनाइ छ।

प्रकाशित: ४ पुस २०८० १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App