९ कार्तिक २०७७ आइतबार
समाज

क्यान्सर बिरामीमा किसान बढी !

भरतपुरको क्यान्सर अस्पतालमा उपचारका लागि पालो पर्खेका बिरामी र आफन्त । तस्बिर: नागरिक

चितवन–  क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेसामा आबद्ध  बताउने अधिक छन् । राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरणकै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।

‘यो प्रारम्भिक जानकारी हो । बिरामीले अस्पतालमा टिपाएको जानकारी हो । यसै आधारमा क्यान्सर किसानलाई बढी हुँदोरहेछ भनेर ठोकुवा गर्न त भएन तर, यस विषयमा थप अनुसन्धान हुनुपर्छ,’ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालअन्तर्गत क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रण विभाग प्रमुख भोला सिवाकोटीले भने।

मुलुकमा सन् २००३ देखि राष्ट्रिय क्यान्सर रजिष्ट्री कार्यक्रम सुरु भएको हो । त्यसयता बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मणिपाल शिक्षण अस्पताल (पोखरा) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा उपचार गराउन आउने यस्ता बिरामीको तथ्यांक राख्न सुरु गरिएको हो।

राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्ट (सन् २००३–१२¬) मा क्यान्सरको उपचार गराउन आएका ५६ हजार १३ नेपालीमध्ये झन्डै ३७ प्रतिशत खेतीकिसानी गर्ने रहेको देखाएको छ

सन् २००३ देखि २०१२ सम्मको १० वर्षको सबै खाले विवरण समेटिएको सो प्रतिवेदन असोज १० मा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सवमा सार्वजनिक गरिएको थियो । १० वर्षमा सातवटा अस्पतालमा  ५६ हजार १३ नेपाली क्यान्सर उपचार गराउन आएको प्रतिवेदनमा लेखिएको छ । तीमध्ये कृषि पेसा अंगाल्ने बताउने २० हजार ९ सय ५३ छन् । यो संख्या कुल बिरामीको झन्डै साढे ३७ प्रतिशत हो ।  उपचार गराउन आएका मध्ये सबैभन्दा थोरै आफूलाई व्यापारी बताउने छन् । जसको संख्या एक हजार ४ सय २९ छ । यो संख्या कुल बिरामीको दुई दशमलब छ प्रतिशत हो । त्यसपछि कार्यालयमा काम गर्ने छन् । जसको संख्या तीन दशमलब सात प्रतिशत छ।

कृषिपछि क्यान्सर उपचार गराउन आएकामा घरेलु काम गर्नेको संख्या बढी छ । यस्तो काम गर्ने बताउने १६ हजार ३७ जनालाई क्यान्सर भएको तथ्यांकबाट देखिन्छ । खेतीकिसानी गर्नेमा पनि पुरुषको संख्या ५० प्रतिशभन्दा बढी छ । १० वर्षमा १८ हजार २ सय ८ पुरुष क्यान्सर उपचार गराउन आएका छन् । जसमा १० हजार ३ सय ६० जनाको कृषि पेसामा आबद्ध भएको प्रतिवेदनमा उल्लेख छ । पुरुष बिरामीमा यो झन्डै ५७ प्रतिशत हो।

क्यान्सर भएका महिलामा घरायसी काम गर्नेको संख्या धेरै छ । १० वर्षमा क्यान्सर भएका २१ हजार ४८  महिलामध्ये नौ हजार ७ सय ८८ जना गृहिणी रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि खेतीकिसानी गर्ने महिलामा क्यान्सर बढी देखिएको छ । क्यान्सर भएका महिलामध्ये छ हजार ५ सय ८० जनाले आफ्नो पेसा कृषि भएको बताएका छन् ।

विषादी प्रयोग विकराल
    कृषिमा प्रयोग हुने रासायनिक विषादीले क्यान्सरसम्म गराउन सक्ने विज्ञहरू बताउँछन् । कृषिमा विषादीको प्रयोग पनि विकराल अवस्थामा रहेको अर्को छुट्टै अध्ययनले देखाएको छ । चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयले सन् २०१४ मा कृषिमा विषादीको प्रयोग विषयमा एउटा अध्ययन गरेको थियो।

प्राध्यापक मीनराज पोखरेलले गरेको अध्ययनले विषादी प्रयोग निकै भयावह अवस्थामा पुगेको देखाएको छ । बालीनालीका प्रमुख १० समस्यामध्ये किसानले कीरालाई मुख्य समस्या मान्छन् । कीरा मार्न किसानले रासायनिक विषादीको सहयोग लिन्छन् ।
विषादी प्रयोग गर्नेमध्ये ७७ प्रतिशत किसानलाई यसले नकारात्मक असर गर्छ भन्ने थाहा हुँदा पनि सुरक्षित ढंगले विषादी छर्ने कमै भेटिएको अध्ययनकर्ता पोखरेलले बताए । ५५ प्रतिशत किसानले विषादी छर्दा कुनै पनि सुरक्षा पहिरन नलगाउने अनुसन्धानक्रममा भेटिएको छ । यसो गर्दा बिषादी छर्ने व्यक्तिको स्वास्थ्य निकै जोखिममा रहेको पोखरेलको भनाइ छ।

विषादी छरेको तरकारी टिपेर कति दिनभित्र उपभोक्ताकोमा लैजाने भन्ने विषयमा पनि जानकारी राख्नेहरू कमै भएको उनले बताए । बालीमा विषादी छरेपछि सो स्थानमा जान र टिपेर खान सिफारिस गरिएको समय नपर्खने ९२ प्रतिशत रहेको उनले बताए । जसले गर्दा तरकारीमा विषादीको मात्रा रहने र उपभोक्तालाई समेत असर गर्छ।

पोखरेलले मकवानपुर र पर्सा जिल्लाका छवटा व्यावसायिक तरकारी पकेट क्षेत्रमा अनुसन्धान गरेका थिए । सो क्षेत्रमा व्यावसायिक तरकारी खेतीमा संलग्न ६० पुरुष र ६० महिला, ३० उपभोक्ता र १२ विषादी बिक्रेतासँग प्रत्यक्ष भेटेर अनुसन्धान गरेको उनले जानकारी दिए । १० प्रकारका तरकारीका नमुनामा विषादी परीक्षण पनि गरेको उनले बताए।

‘तरकारीमा विषादी प्रयोगका विषयमा गरेको अनुसन्धानले पनि केही कुरा नदेखाउने हैन तर बिरामी भएर आएकामध्ये कृषि पेसा अंगालेकालाई कृषिकै कारण क्यान्सर भएको हो वा हैन भनेर ठोकुवा गर्न मिल्ने अध्ययन अनुसन्धान हुनुपर्छ,’ अस्पतालका क्यान्सर अनुसन्धान विभाग प्रमुख सिवाकोटीले भने।  

 

प्रकाशित: १२ माघ २०७४ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App