४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अब जुम्लामा पनि २४ सै घण्टा फोन सेवा

जुम्लाको तातोपानी गाउँपालिका– ४ हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा बिजुली बत्ती जडान भएपछि २४ सै घण्टा फोन सम्पर्क गर्न सकिने भएको छ।

यसअघि टावरमा सोलार प्यानलको सहयोगमा मात्र चल्न हुँदा घाम लाग्न छाडेपछि फोन गर्न नपाइने समस्या थियो। टावरमा बिजुली बत्ती जडान गरेपछि अब दर्जन बढी गाउँमा सञ्चारको समस्या हुने छैन।

तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाका अनुसार गिडिखोलाको जाल्पादेवी विद्युत् सहकारीबाट विद्युत् जडान गरिएको हो। यससँगै तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा लगायतका गाउँ सञ्चारको समस्याबाट मुक्त भएका छन्।

१५ लाख बजेटमा टावरसम्म विद्युत् पुर्‍याइएको हो। गत वर्ष पुसमा लाग्नाको टावरमा दिगो विद्युत् व्यवस्थापनको लागि जिल्ला प्रशासनमार्फत नेपाल टेलिकम दूर सञ्चार कार्यालयको ध्यानाकर्षण गराइएको थियो।

तथापि वर्ष दिनसम्म समस्याको समाधान हुन सकेको थिएन। समुन्द्री सतहबाट २ हजार ८ सय ५० मिटर उँचाइको हाँकु लाग्ना टावरमा गिडिखोलाको जाल्पादेवी विद्युत् सहकारीबाट विद्युत् पुगेपछि तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायाबाडा लगायतका गाउँमा २४ सै घण्टा सञ्चारको सुविधा पुगेको हो।

तातोपानी गाउँपालिका-४ को ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको ९ लाख ९६ हजार गरि कुल १५ लाख ९६ हजार बजेटमा विद्युत् टावर सम्म पुर्‍याइएको हो।

टावरमा विद्युत् पुगेपछि मोबाइलमा नेटवर्क भित्र्याउन डाँडा चढ्नुपर्ने र घाम पर्खनु पर्ने बाध्यता अन्त्य भएको नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सूर्य प्रकाश यादवले बताए।

बादल लागे पनि, हिउँ परे पनि लाग्ना टावरको सेवा क्षेत्रभित्र जब सम्म विद्युत् अवरोध हुँदैन, तब सम्म टावरको दुख हुने छैन।

यद्यपि प्राविधिक समस्या बाहेक बिजुलीको समस्या नहुने उनको भनाइ छ। २०७७ सालमा निर्माण भएको हाँकु लाग्ना टावरमा घाम लाग्दा मात्रै सुचारु हुन्थ्यो। राती, बिहान र बेलुका नेटवर्क ठप्प हुने समस्याबाट त्यहाँका नागरिकलाई समस्या भोग्दै आएका थिए।

प्रकाशित: १ पुस २०८० ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App