नेपाली समाजमा एउटा भनाइ छ, ‘भगवान्ले पनि दुःखीलाई नै दुःख थप्दा रहेछन् ।’ यो उखान दृष्टिविहीन सुस्मिता विकको जीवनमा ठ्याक्कै मिलेको छ।
जन्मजात दृष्टिविहीन सुस्मिताको हातमा बेनी अस्पतालको ओपिडीमा चेकजाँच गरेको रिपोर्ट छ। पाठेघर र मुटुमा समस्या देखिएकी उनी खुट्टा सुन्निएपछि हप्तामा दुईतीनपटक अस्पताल पुगेर चेकजाँच गराउँछिन्।
बिहान भोकभोकै कोठाबाट निस्किएर बिरामी हुँदा अस्पताल आसपासका क्षेत्रमा बसेर दिनभर गीत गाउँछिन्। अली सन्चो हुँदा भिडभाड हुने ठाउँमा पुगेर गीत गाउँछिन्। उनी दैनिक ७ सय रूपैयाँ भाडा तिरी स्पिकर लिन्छिन्। त्यही स्पिकर बजाई छोराछोरी र आफन्तको सहयोगमा गीत गाएर रकम संकलन गर्छिन्। यसरी जम्मा भएको रकमले उनी गुजारा चलाउँछिन्।
दुःखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुँदासमेत भोकभोकै बेनीबजार आउँछिन्। साँझबिहानको छाक टार्न विद्यालय जाने छोरालाई लिएर गीत गाउँदै सहयोग जुटाइरहेकी सुस्मितालाई उनका पतिसमेत छोडेर पोखरा गएका छन्।
चिसोले शरीर सुन्निएकाले गीत गाउँदागाउँदै आवाज रोकिएपछि केहीबेर आराम गर्छिन्। पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम घर भई हाल पर्वतको जलजला गाउँपालिका लामाखेतमा सानो कोठा लिएर बसेकी छिन्। छोराछोरीलाई नयाँ लुगा, मिठो खानेकुराभन्दा पनि दुई छाक पेटभर खुवाउनसमेत सुस्मिताले एक्लै संघर्ष गरिरहेकी छन्।
उनका पति लामो समयदेखि पोखरामा छन्। दृश्य मात्रै होइन, जीवनमै अन्धकार छाएको सुस्मिताले पीडा र वेदनाले भरिएको गीत गाउँदै सडकमा सहयोग जुटाउने गरेको बताइन्।
‘बिरामी भएर अहिले गीत गाउनसमेत नसक्ने अवस्थामा छु, बिहान भोकै उपचारका लागि बेनी अस्पताल आएकी थिएँ, अहिले गाउँदै छु,’ सुस्मिताले भनिन्।
उनलाई आफ्नो खुट्टा सुन्निएकोमा भन्दा पनि छोराछोरीको शिक्षादीक्षासहित पेटभर खुवाउने चिन्ताले सताउने गरेको छ। बेनीबजारबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको लामाखेतमा बस्ने सुस्मिताले बिहान भात नखाएको महिनौँ भयो। दिनभरि गीत नगाए बेलुकी छोराछोरीका लागि घरको चुल्हो बल्दैन। सुस्मिताले दृष्टिविहीनका पीडा र गरिबी झल्किने गीतमार्फत बटुवालाई समेत भावुक बनाउँछिन्।
हातमा माइक्रोफोन समातेर अगाडि उभिएकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन्। बेलुकीको छाक टार्ने खाद्यान्न नभएपछि सुस्मिताले विद्यालय जाने छोरालाई आफूसँगै राखेर सहयोग जुटाउनुपर्ने बाध्यता रहेको बताइन्।
उनलाई आफन्तले म्युजिक बजाउने, सहयोग जुटाउने र एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सहयोग गरेकाले सहज भएको छ। ‘घरमा भात खाने चामलसमेत छैन, छोराछोरीको पढाइमा समेत असर गरेको छ,’ सुस्मिताले भनिन्।
मुटु र पाठेघरको समस्या बोकेर हिँडिरहेकी सुस्मिताले दिनभर मुस्किलले १५ सयसम्म जम्मा गरेर खाद्यान्न लिएर दैनिक घर जान्छिन्।
‘जाडो समयमा लत्ताकपडा नहुँदा चिसो रातमै बिताउनुपर्छ, जुत्ता किन्ने पैसासमेत नहुँदा छोराछोरीलाई चिसोमा पनि चप्पलमै विद्यालय पठाउँछु,’ उनले भनिन्।
सुस्मिताको एक छोरा र चार छोरी छन्। छोराछोरी पढाउनदेखि सबै घरखर्च उनको गीतबाट जुटाउनुपर्ने बाध्यता छ।
उनले आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिँड्ने बटुवा, व्यापारीको समेत आँखा रसिलो हुन्छ। उनी दृष्टिविहीनको पीडा स्थानीय सरकारले नसुनेको, आफ्नो समस्याले छोराछोरीलाई दुःख भएको जस्ता गीत गाउँछिन्।
दृष्टिविहीन भएकैले सुस्मिता र उनका पतिसमेत दृष्टिविहीन हुन्। पहिले सँगै गीत गाउने पति जलन विक अहिले पोखरामा बस्छन्। ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्नुपरेको सुस्मिताले भनिन्।
‘मेरो घाँटीमा समस्या आउँदा घरमा चुल्हो बल्दैन, अहिले बिरामी भए पनि सकिनसकी गीत गाइरहेको छु,’ उनले भनिन्।
प्रकाशित: १ पुस २०८० ०३:०७ आइतबार