२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चुरे संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा : प्रथम राष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई-मधेसको जनजीवन संकटमा पर्ने बताएका छन्।

जनकपुरधाममा जारी राजेश्वर नेपाली टी- २० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उनले त्यस्तो बताएका हुन्।

प्रथम राष्ट्रपति यादवले जल भण्डारका रूपमा रहेको चुरेको विनाशले तराई–मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताए।

‘चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु । म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँदै छ। त्यसैले सबै सचेत बनौं भनेर आग्रह गरिरहेको छु’, प्रथम राष्ट्रपति यादवले भने, ‘जल, जंगल र जमिन रक्षा नगरेमा मानव जीवनको पनि रक्षा गर्न सकिँदैन। त्यसैले चुरेलगायत प्राकृतिक स्रोत संरक्षणका लागि संवेदनशील बन्न म फेरि अपिल गर्न चाहन्छु।’

त्यसैगरी उनले राजनीतिलाई पनि खेलको नियमजस्तै अनुशासित बनाउन सके मात्रै सुसंस्कृत राजनीति र देशमा विकास हुने भन्दै अब युवा पुस्ताले त्यसका लागि प्रयत्न गर्न सक्नुपर्ने धारणा राखे।

यसअघि राजनीतिक दल तथा पत्रकारबीच भएको ‘सुपर सिक्स’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको पत्रकार टोलीले निर्धारित ओभरमा ८५ रन बनाएको थियो। प्रतिउत्तरमा जनप्रतिनिधिको टोली निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएको थियो।

प्रकाशित: ३० मंसिर २०८० १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App