१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

क्षमताभन्दा दुई सय बढी कैदीबन्दी राखिएको जिल्ला कारागार कार्यालय चितवनमा एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ। उनीहरू विभिन्न रोगबाट पीडित छन्।

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए।

‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने।

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ।  

अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटु रोगी चार, एचआइभी सङ्क्रमित चार, छारे रोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी छन्।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ। अहिले कारागारमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी राखिएको छ।

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि  छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए।

‘उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ’, उनले भने, ‘औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ।’

प्रकाशित: २९ मंसिर २०८० ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App