४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा पैदल यात्रुका लागि छुट्टै लेन

जमुनाह नाकाबाट पैदल लेनबाट नेपाल प्रवेश गर्दै यात्रुहरु। तस्बिर: गणेश/नागरिक

नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा यात्रुहरु हिँड्नका लागि छुट्टै पैदल लेनको व्यवस्था गरिएको छ।

दुई र तीन पांग्रे सवारी साधन प्रवेश गर्ने स्थानबाट पैदल यात्री नेपाल प्रवेश गर्दा असहज र झन्झटिलो हुने भएपछि पैदल यात्रुका लागि छुट्टै लेन (हिँड्ने बाटो) को व्यवस्था गरिएको हो।

छुट्टै लेन भएपछि नेपाल प्रवेश गर्न यात्रुलाई सहज भएको छ। यसभन्दा अघि सवारीसाधन आवतजावत गर्ने स्थानबाटै यात्रुहरु भित्रिने गरेका थिए। जसले गर्दा यात्रुहरुलाई नेपाल प्रवेश गर्न असहज र झन्झटिलो हुँदै आएको थियो। 

यात्रुहरुको सहजताका लागि यात्रु हिँड्न छुट्टै लेन व्यवस्था गरिएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जनाए।

‘म यहाँ (नेपालगन्ज) आएको भर्खरै हो,’ उनले भने, ‘सीमा क्षेत्र अनुगमन गर्दा यात्रुले पाइरहेको सास्ती देखेँ। अनि यात्रुका लागि छुट्टै लेन बनाएँ।’ सीमा क्षेत्रबाट हुने चोरी पैठारी र निकासी रोकथामका लागिसमेत प्रयास गरिएको उनी बताउँछन्।

सीमा क्षेत्रमा यात्रुका लागि छुट्टै लेनको व्यवस्था भएपछि आवागमनमा सहज भएको एक पैदल यात्री गोर्ख खड्काले बताए। ‘आजभन्दा दुई हप्ता अगाडि म यहाँ आउँदा यस्तो थिएन। सवारीसाधन भित्रिने ठाउँबाटै कोचाकोच गरेर आउनु पर्थ्यो,’ उनले भने, ‘आज (बिहीबार) भने सहजै नेपाल भित्रिन पाइयो।’

भारतको लखनउबाट नेपाल फर्कँदै गरेकी शान्ता पुनले भनिन् ‘पहिले झन्झटिलो ढंगले सीमाबाट प्रवेश गर्नुपर्थ्यो। अहिले त धेरै सहज भयो।’

जमुनाह नाकामा दैनिक करिब २५/३० हजार नागरिक आवतजावत गर्ने गर्छन्।

प्रकाशित: २८ मंसिर २०८० ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App