२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

फोहरले दुर्गन्धित

बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाड खोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ-बोंगादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको डंगुरले भरिएको छ। दैनिक हजारौं यात्रु त्यही फोहरको डंगुरमाथिको सडक हुँदै यात्रा गर्छन्। दश नमुना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ।

बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका ३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ। एक दशकअघि बुर्तिबाङ बजार सानो थियो। फोहर पनि थोरै निस्कन्थ्यो। सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए र त्यही जलाउने गरेका थिए, तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ। नगरपालिकाले ६ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ।

बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्‍याउँछ। फोहरले तमानखोला प्रदूषित बनेको छ। तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ।

देशकै नमुना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ। आर्थिक वर्ष २०६७-६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेको छैन। खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ।

फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरू बताउँछन्। हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका वडा नं ३ र ४ का विभिन्न गाउँमा पुग्ने सडकछेउमै पर्छ।

सडकछेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ। बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याँक्ने गर्छ। कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँमा फालिँदै आइएको छ।

खोलाछेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन ३ का मीनबहादुर घर्तीले बताए। बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावी फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ।

वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन्। हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ।

बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ। जनघनत्व बढ्दै गएको छ। तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन। सबै फोहर खोलाले बगाएर जताततै पुर्‍याउँछ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको  बताए।

आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ। जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थापन हुने उपप्रमुख कायतको विश्वास छ। –रासस

प्रकाशित: २८ मंसिर २०८० ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App