५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल–भारत जनसम्बन्धको सेतु विवाहपञ्चमी

जन्तीको प्रतीक्षामा जनकपुर

जनकपुरधामको जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अवलोकन गर्न नेपालका विभिन्न ठाउँ र भारतबाट आएका भक्तजन। तस्बिर : नागरिक

आजु जनकपुरमे मरबा बडा सुहावन लागे, सीताके चढेला हरदीया मन भावन लागे !  

आजु जनकपुर मंगल हे, चहूँ दिस मंगल हे ! जानकीके होइछैं वियाह, जनकपुर मंगल हे !!

मिथिला तथा भोजपुरा क्षेत्रको विवाहमा गाइने यी र यस्तै गीतले गुञ्जायमान छ, जनकपुरधाम। रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव मनाइन्छ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारदेखि नै सुरु भएको छ। महोत्सवका प्रत्येक कार्यक्रम निकै महŒवपूर्ण र रोमाञ्चक हुन्छन्। महोत्वसको पहिलो दिन नगरदर्शन सम्पन्न भयो। यस दिन राम–सीताको प्रतिमा र झाँकीलाई बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो।

दोस्रो दिन फूलबारी लीला मनाइएको छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ। यो विधि जानकी मन्दिरसँगै रहेको विवाहमण्डपमा हुन्छ।

फूलबारीमा राम–सीताको पहिलो भेट भएपछि नै दुवैबीच प्रेम सम्बन्ध जुटेको मान्यता छ। तेस्रो दिन बिहीबार धनुष यज्ञको विधि हुन्छ। सीता स्वयंवरका लागि राजा जनकले शिवको धनुषमा ताँदो चढाउने सर्त राखेको स्मरणस्वरूप सोही लीलालाई प्रदर्शन गरिँदै आएको छ।

चौथो दिन शुक्रबार तिलकोत्सव मनाइन्छ। विवाह महोत्सवको मुख्य आकर्षणमध्ये एक हो, ‘तिलकोत्सव’। राम मन्दिरको प्राङ्गणको तिलकोत्सव मञ्चलाई जानकी मन्दिरबाट वरपक्ष राम मन्दिरलाई पठाएको करिब डेढ सयभन्दा बढी भार(कोसेली)सहित सजाइन्छ। सोही क्रममा जानकी मन्दिरका महन्थ र राममन्दिरका महन्थबीच सम्धी मिलान समारोहसमेत गरिन्छ। सम्धी मिलान मिथिलाको वैवाहिक उत्सवमा विशेष संस्कृति हो।

पाँचौं दिन शनिबार मटकोरको विधि हुनेछ। यस विधिमा विवाहको मण्डप बनाउन पवित्र जलाशय गंगासागरबाट माटो ल्याइन्छ। सोही माटोले विवाहको वेदीलाई लिप्ने गरिन्छ। छैटौं दिन आइतबार साताव्यापी महोत्सवको मुख्य आकर्षण रामसीताको स्वयंवर हुन्छ।

यस दिन राम–सीताको डोलालाई हजारौं श्रद्धालुहरूको साथमा रंगभूमि मैदान लगिन्छ। सोही मैदानमा जानकीको डोलाले रामको डोलालाई चारपल्ट परिक्रमा गरी माला लगाउने परम्परा छ। साँझमा मन्दिरको प्रांगणमा अवस्थित विवाहमण्डपमा राम–सीताको प्रतिमाबीच वैवाहिक विधि सम्पन्न गरिन्छ।

अन्तिम दिन सोमबार रामकलेवा मनाइन्छ। यसलाई मैथिलीमा बरातीको बिदाइ भनिन्छ। यस दिन बरातीलाई छप्पन भोग व्यञ्जन खुवाइन्छ। लुगा र कोसेली दिई बिदाई गरेपछि विवाह महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ। रामायणमा तुलसीदासले लेखिएको पंक्ति उद्धृत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दाश भन्छन्, ‘सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो।’

बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ। त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरधामको घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ। वर्षौंदेखि जनकपुरधामले धान्दै आएको यस सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ।

अघिल्ला वर्षहरूमा महोत्सवमा सहभागी हुन देशविदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो। विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुने गरेको छ। भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा नौलक्खा मन्दिर बनाएकी थिइन्। मुगल शैलीको यो मन्दिर बनाउन नौ लाख खर्च लागेको थियो।

मन्दिरका ६० वटा कक्षमा भरिभराउ अतिथि र सामग्री छन्। भान्से पकवान बनाउन व्यस्त छन्। जन्ती विदाइका लागि जोहो गरिएका उपहारले कोठाहरू भरिएका छन्। मन्दिरको कुनाकुना रंगीविरंगी फूलले सजाइएको छ। बिजुली बत्ती जडान गरेर मन्दिर झकिझकाउ पारिएको छ।

उता राम मन्दिरमा पनि बरातीको(जन्ती) भव्य तयारी छ। स्वयंवर र विवाहमा सहभागी हुन वरपक्ष डोलामा सजिएर जानेछन्। जानकी मन्दिरजस्तो भव्यता राम मन्दिरमा देखिँदैन। तथापि तामझामका साथ रामको जन्ती निकालिने जनाइएको छ।

जनसम्बन्धको सेतु

त्रेतायुगमा सीता र रामको जनकपुरधाममा विवाह भएको थियो। यो पर्व त्यही परम्पराको निरन्तरता हो। छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयंवर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो।

रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्। ‘पाँच शताब्दी पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन्।

पहिला अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरबासीले जन्ती मानेर स्वागत गर्थे। ‘तर २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो,’ वैष्णव बताउँछन्।

यसका लागि दुई देशका सरकार र खासगरी तत्कालिन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको उनले बताए। यसरी पहिलो पटक चारपाँच सय गाडीमा जन्ती सजाएर ल्याइएको थियो। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुरधाम पुर्‍याइएको थियो।

जनस्तरमा नेपाल–भारत सम्बन्ध अत्यन्त सघन छ। यसलाई ‘रोटी–बेटी’ को सम्बन्ध भनेर पनि अथ्र्याइन्छ। यसको सुरुवात जानकीले गरेकी थिइन्। त्यसैले विवाह महोत्सव दुई देशबीचको सांस्कृतिक सेतु हो।

प्रकाशित: २८ मंसिर २०८० ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App