१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पैसा र कुरुवाको अभावले प्रतापको थप उपचारमा समस्या

आस मारेर दाहसंस्कारका लागि सम्पूर्ण तयारी गरिएका सुनसरी इनरुवा वडा नं. ३ का ३० वर्षे प्रताप सदाको थप उपचारमा समस्या हुँदै गएको छ।

सदाको उपचारका लागि सुविधा सम्पन्न अस्पताल लानुपर्ने अवस्था भएपनि  त्यसका लागि पैसासँगै कुरुवाको अभाव भएको हो। यति बेला उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ।

पाँच दिनअघि सिकिस्त बिरामी भएर आस मारी सकेका प्रतापको स्वास्थ्य अवस्था मंगलबारसम्म सुधार हुँदै आएको थियो। बुधबार भने उनलाई ज्वरो आएको छ। सुरुवातमा सदालाई मेनेन्जाइटिस भएको बढी आशङ्का गरिए पनि त्यसका लागि ढाडबाट पानी निकालेर परीक्षण गर्नु पर्ने हुन्छ। तर, त्यो परीक्षण जिल्ला अस्पताल इनरुवामा सम्भव छैन।

‘उहाँ (प्रताप) को स्वास्थ्य अवस्था राम्रो पनि छैन, नराम्रै पनि भन्न मिल्दैन, स्थिर नै छ,’ जिल्ला अस्पतालको निम्ति मेसु डाक्टर श्रेया पङ्गेनीले बुधबार साँझ भनिन, ‘आजबाट ज्वरो पनि आएकाले गर्दा किड्नी र लिभरमा पनि समस्या भएको अनुमान छ।’

उनका अनुसार संक्रमण शरीरका अरू भागमा पनि फैलिएकाले गर्दा सुविधा सम्पन्न अस्पतालमा लागेर उपचार गर्नु नै उत्तम हुने उनले सुझाइन्।

‘थप उपचारका लागि लान इनरुवा नगरप्रमुखसँगै वडा नं. ३ का वडाध्यक्षसँग पनि सुरुवातमा कुरा भएको हो,’ उनले भनिन, ‘ उहाँहरूले (मेयर र वडाध्यक्ष) थप पहल गर्ने आश्वासन दिनुभएकाे छ।’

उनका अनुसार अस्पतालमा भएको सुविधा अनुसार प्रतापलाई अहिलेसम्म निःशुल्क उपचार भइरहेको छ। यद्यपि, अब भने इन्टिभाइटिक पनि थप गर्नुपर्ने अवस्था छ। त्यो औषधी अस्पतालको फार्मेसीमा उपलब्ध छैन। जसले गर्दा त्यसका लागि खर्च गर्नु पर्ने हुन्छ। त्यो पैसा कोहीबाट सहयोग भएको छैन।

इनरुवा वडा नं. ३ का वडाध्यक्ष रमेश श्रेष्ठले प्रतापको थप उपचार गर्न लानका लागि कुरुवा र पैसा दुवै आवश्यक पर्ने हुँदा अहिले आफूले व्यक्तिगत रुपमा निर्णय गर्न नसकेको बताए।

‘नगरप्रमुखसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘पैसा त्यसमा पनि ठुलै रकम चाहिने र बिरामीका लागि कुरुवा पनि चाहिने हुँदा थप उपचार गर्न लाँदा पार लगाउने गरि सोचविचार भइरहेको छ।’ 

उनले प्रतापको उपचारका लागि वडाको मात्र बहसको विषय नभएकाले गर्दा नगरप्रमुखको सुझाव अनुसार मात्र निर्णय लिइने बताए।

वडाध्यक्ष श्रेष्ठका अनुसार प्रतापकी श्रीमती सीताले अहिले पनि घरमा पूजा लगाउँदा ठिक हुन्छ भन्ने भ्रम रहेकाले एक जना कुरुवा अनिवार्य चाहिने बताए। प्रतापको विश्वासिलो आफन्त कोही पनि छैन।

मानव अधिकार अधिकार सञ्जाल सुनसरीका अध्यक्ष रमेश भट्टराईले भने बिरामीलाई इनरुवा अस्पतालमै ‘होल्ड’ गरेर राख्नु गलत भएको बताए।

उनले स्थानीय सरकारले सबै विकल्प खुल्ला राखेर अभिभावकीय भूमिका निर्वाह गरि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न लानु पर्ने बताए।

सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सामाजिक अगुवाले ‘पहिल्यै नै मृत्यु भइसकेका बिरामी पछि जिउँदै रहेछन्’ भनेर बिरामीसँग फोटो खिच्न नभएर उपचारमा ध्यान दिनुपर्ने राय राखेर उनले सामाजिक सञ्जालमा लामो पोष्ट समेत गरेका छन्।

प्रताप शुक्रबारदेखि बिरामी छन्। उनलाई सुरुवातमा जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नहुने बताएपछि कोशी अञ्चल अस्पताल विराटनगर लगियो। त्यहाँ पनि आइसियु चाहिने हुँदा अन्यत्र लान अस्पताल प्रशासनले सुझायो।

परिवारका सदस्यले विराटनगरकै न्यूरो मेट्रो अस्पताल लगेका थिए। त्यहाँ एक रात राखेर फेरि घर ल्याइएको थियो। न्यूरो मेट्रोमा डाक्टरले बिरामी बाँच्दैन भनेका आधारमा गाउँलेले दाहसंस्कारका लागि चाहिने सबै सरसामान आइतबार दिउँसो घरमा खरिद गरेर राखेका थिए। प्रतापको परिवारले गाउँलेकै दबाबमा फेरि इनरुवा अस्पताल भर्ना गरेको थियो।

प्रकाशित: २७ मंसिर २०८० १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App