७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पाँचखालको महिला औद्योगिक ग्राम शिलान्यास नहुँदै विवादमा, महिला उद्यमी महासङ्घलाई उपेक्षा

तस्बिरमा: बायाँबाट अध्यक्ष प्रमिला आचार्य रिजाल र पाँचखाल नगरपालिका मेयर महेश खरेल।

महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै महिलालाई रोजगारी सृजना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला औद्योगिक ग्राम निर्माण विवादमा परेको छ।

सरकारले घोषणा गरेको औद्योगिक विकास ग्राम कार्यक्रम अन्तर्गत काभ्रेपलान्चोकको पाँचखालमा करिब एक अर्ब रुपैयाँको लगानीमा मुलुकमै पहिलो महिला औद्योगिक ग्रामको शिलान्यास नहुँदै विवाद सुरु भएको हो।

यो औद्योगिक ग्रामको बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसमेतको उपस्थितिमा शिलान्यास गर्ने योजना छ।

महिला उद्यमीहरूको छाता संस्था महिला उद्यमी महासंघ (एफवीन) को अनुरोधमा सरकारले महिला औद्योगिक ग्राम स्थापना गर्न लागेको भए पनि अहिले सोही संस्थालाई साझेदारिमा नराखे पछि पार्कको भविष्य अन्योलमा पर्ने देखिएको छ।

राजनीतिक पहुँचको आधारमा महिला उद्यमी तयार गर्न काम गर्दै आएको एफवीनलाई बाहिर राखेर दक्षिण एसियाली महिला विकास मञ्चसँग साझेदारिता गरे पछि एफवीनले असन्तुष्टि जनाएको छ। एफवीनलाई बेवास्ता गर्दै पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चको साझेदारितामा पार्क निर्माण अघि बढाउन लागिएको छ। महिला उद्यमीको छाता संस्था महिला उद्यमी महासङ्घलाई उपेक्षा गरिएको भन्दै चौतर्फी आलोचना भएको छ।

श्रोतका अनुसार राजनीतिक पहुँच प्रयोग गरेर दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले एफवीनलाई बाहिर राखेर पार्क अघि बढाउन लबिङ गरेकी थिइन्।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेल मञ्चकी अध्यक्ष रिजालका बहिनी ज्वाइँ हुन्। खरेलले आफ्नी दिदी सासूको योजनालाई साथ दिएर योजना अघि बढाए पछि विवाद भएको छ। महिलाहरूको उद्यमशीलता विकासमा सामूहिक प्रयत्न गर्नुपर्ने भए पनि रिजालले राजनीतिक पहुँच प्रयोग गरिन्। दक्षिण एसियाली महिला विकास मञ्च क्षेत्रीय स्तरको लुज फोरम हो।

एफवीनको मुलुकका ६१ जिल्लामा शाखा छन्। हजारौँ महिला उद्यमी एफवीनसँग आबद्ध छन्। मुलुकभर महिला उद्यमी तयार गर्न सहयोग पनि गर्दै आएको छ। सरकारले पनि एफवीनसँग नीतिगत क्षेत्रमा साझेदारिता गर्दै आएको थियो। दक्षिण एसियाली महिला विकास मञ्चको जिल्लामा पहुँच नभएको महिलाले उत्पादन गरेका वस्तु पार्कमा आउने सम्भावना देखिँदैन।

राजनीतिक पहुँचको आधारमा महिला उद्यमीको छाता संस्थालाई बाहिर राख्दा राम्रो सन्देश नगएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए।

‘देशभरका महिला उद्यमीका साझा संस्थासँग सहकार्य र साझेदारिता हुनुपर्थ्यो,’ ती अधिकारीले भने, ‘महिला उद्यमीहरूले स्वामित्व नलिए पछि पार्क चल्न कठिन हुन्छ।’ पहुँचका आधारमा क्षेत्रीय स्तरमा मात्र सहकार्य गरेको एउटा लुज फोरमसँग मात्र सहकार्य गरे पछि महिला उद्यमीहरू असन्तुष्ट भएका छन्।

एफविन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिस‍घ, नेपाल चेम्बर अफ कमर्स जस्तै सरकारसँग २० औँ वर्षदेखि साझेदारिता गर्दै आएको छ। यो महासंघ, घरेलु महासंघमा आबद्ध महिलाहरूको पनि छाता संस्था हो। एफविनमा देशभरका करिब ५० हजार महिला उद्यमीहरू आबद्ध रहेका छन्।

महिला उद्यमीका लागि पार्क बनाउनु सकारात्मक भए महिला उद्यमीहरूको छाता संस्थालाईनै बाहिर राख्नु दुःखद भएको एफवीनकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

‘हाम्रै आग्रहमा सरकारले पार्क निर्माण गर्ने योजना अघि बढ्यो,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘एफविनसँग अहिले साझेदारिता नहुँदा आश्चर्यमा परेका छौँ।’ महिला उद्यमीको आर्थिक सशक्तीकरणमा काम गर्दै आएको ज्ञवालीले बताइन्।

‘हामी सरकारसँग सहकार्य गरेर पार्क निर्माणलाई सफल बनाउन चाहान्छौं,’ उनले भनिन्, ‘साझेदारिताको वातावरण बनाउनुपर्‍यो।’

पाँचखालमा एक सय ५७ रोपनी क्षेत्रफलमा महिला हरित औद्योगिक पार्क स्थापना गर्न लागेको हो। यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ भने सरकारले बजेट विनियोजन गरेको छ। सरोकारवालासँग समन्वय नगरी पार्क स्थापना अघि बढेकाले महिला उद्यमीहरूबिच असन्तुष्टि बढेको छ।

सरकारको नीतिगत साझेदार भएकाले पार्कमा महासङ्घको साझेदारिता हुनुपर्ने एफवीनकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले बताइन्। ‘महिला उद्योग ग्राम बन्नु खुसीको विषय हो, श्रेष्ठले भनिन्, ‘त्यसमा एफवीनको पनि साझेदारिता हुनुपर्छ।’ सरकारले आफ्नै नीतिगत साझेदारलाई बेवास्ता गर्न नहुने उनको तर्क छ।

एफविनकी उपाध्यक्ष बासन्ती प्रधानले सबै महिला उद्यमीको अपनत्व हुने गरी पार्क निर्माण अघि बढाउनु पर्ने बताइन्। ‘महिलाको उद्यमशीलता विकास गर्न काम गर्दै आएका छौँ,’ प्रधानले भनिन्, ‘सरकारसँग सहकार्य र साझेदारिताको अपेक्षा गरेका छौँ।’

महिलाहरूको उद्यमशीलता विकास गर्नका लागिनै औद्योगिक ग्राम निर्माण गर्न लागिएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले बताए। दक्षिण एसियाली महिला विकास मञ्चसँग सम्झौता गरेर काम अघि बढेकाले अरूलाई नचिन्ने खरेलको तर्क छ। ‘जुन संस्थासँग नगरपालिकाले  सम्झौता गरेको हो त्यही संस्थासँग नगरपालिकाले सहकार्य गर्छ,’ मेयर खरेलले भने।

प्रकाशित: २७ मंसिर २०८० ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App