१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बोलिभियादेखि नेपालसम्म कोकिन तस्करको जालो

कोकिन तस्करीमा संलग्न भई पक्राउ परेका थाई र बोलिभियाली नागरिक । तस्बिर सौजन्य - नेपाल प्रहरी

काठमाडौं - पोर्चुगल र स्पेनको प्रहरीले संयुक्त अपरेसनमार्फत बिहीबार दक्षिण अमेरिकी देश बोलिभियाबाट युरोप पठाउन भुइँकटरभित्र लुकाएको ७ सय ४५ किलो कोकिनसहित नौ जनालाई पक्राउ गर्यो । पक्राउपर्ने अधिकांश नागरिक बोलिभियाका थिए ।

सोही दिन यता नेपालमा लागूऔषध नियन्त्रण ब्युरोले बोलिभियाकै नागरिकलाई एक किलो ९ सय ग्राम कोकिनसहित पक्राउ गर्यो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका फ्रेडी ममनी एन्डिए बोलिभियाली कोकिन माफिया समूहकै सदस्य रहेको देखिएको छ । के यी दुवै घटना एकअर्कासँग जोडिन सक्छन् ?
‘उता बरामद कोकिनको परिमाण र नेपालको परिमाणमा धेरै भिन्नता भए पनि दुवैको स्रोत देश र संलग्न समूह एकै हुन्’, ब्युरो प्रमुख डिआइजी ठूले राईले भने, ‘अहिले नै यी दुवै घटना एकअर्कासँग मिल्छन् भन्न सकिन्न तर अनुसन्धानको विषय भने हो ।’

सामुद्रिक मार्ग हुँदै हुने गरेको कोकिनको अवैध कारोबारबारे खुलाउन पोर्चुगल र स्पेनका प्रहरीले नौ महिना खर्चिएका थिए । हवाईमार्ग हुँदै नेपालमा एक किलो ९ सय ग्राम कोकिन भिœयाउनेलाई समात्न लागूऔषध नियन्त्रण ब्युरोले पाँच दिन खर्चियो र बोलिभियालीसँगै थाई युवतीलाई समेत पक्राउ गर्यो ।
ब्युरोका अनुसार बोलिभियाली नागरिक एन्डिए बोलिभिया, ब्राजिल, इथियोपिया र भारत हुँदै हवाईमार्गबाट पुस २८ मा काठमाडौं भित्रिएर सीधै ठमेलको होटलमा पुगे । उनका लागि बोलिभियाबाटै ठमेलमा कोठा बुक भइसकेको थियो ।

पाँच दिनको बसाइमा उनले दुईवटा होटल परिवर्तन गरे ।  पर्यटक भिसामा सुटकेस बोकेर काठमाडौं उत्रिएका उनले चार दिन बिताए । उनको काम थियो अपरिचित कुनै युवतीलाई सुटकेस दिने । यति काम सकिएपछि उनी पुनः स्वदेश फर्किने योजनामा थिए तर सूचना चुहिँदा उनको योजना सफल हुन सकेन । बोलिभियाको साटो बिहीबार उनी कोटेश्वरमा रहेको ब्युरोको हिरासतमा पुगे ।

हिरासतमा पुग्दा उनीसँगै हत्कडीमा थिइन् थाई युवती खुनजई खनरात । यी दुवैलाई काम लगाउने समूह एउटै भए पनि उनीहरुबीच परिचय प्रहरी हिरासतमै भएको थियो । थाई युवतीका लागि ठमेलको एक होटलमा बैंककबाटै अनलाइनमार्फत कोठा बुक भएको थियो । उनी तोकिएको होटलको तोकिएको कोठामा पुगेपछि सुटकेससहित कोही आउने सूचना दिइएको थियो । सो सुटकेस लिएर हवाईमार्ग हुँदै थाइल्यान्ड फर्कन उनी बुधबार नेपाल उत्रिएकी थिइन् ।

युवकको जिम्मेवारी कोकिनसहितको सुटकेस नेपाल ल्याएर युवतीलाई दिने थियो । युवतीको जिम्मेवारी सुटकेस बोकेर थाइल्यान्ड फर्किने थियो । यसबापत उनले ३ हजार अमेरिकी डलर पाउँथिन् । ‘बोलिभिया र थाइल्यान्डबाट अपरिचित दुई व्यक्ति काठमाडौं उत्रिए पनि दुवैलाई परिचालन गर्ने समूह एउटै देखियो,’ डिआइजी राईले भने, ‘उनीहरुले एकअर्कालाई चिन्दैनथे ।’

बयानमा बोलिभियाली युवक मोटरसाइकल वर्कसपमा काम गर्ने क्रममा कोकिन तस्करीमा सक्रिय समूहको सम्पर्कमा पुगेर भरिया बनेको खुलेको छ । थाई युवतीले भने आफूलाई प्रेमीको साथीले झुक्याएर कोकिनको भरिया बनाएको दाबी गरेकी छिन् । खनरातको दाबीअनुसार थाइल्यान्डमा भेटिएका बोलिभियाली प्रेमीको साथीले उनलाई नेपाल गएर सुटकेस बोकेर आउने हो भन्दै उतै सुटकेस दिएका थिए, जुन रित्तोजस्तै थियो । उनले कोकिन भरिया बन्दैछु भन्नेबारे जानकारी नभएको दाबी गरे पनि प्रहरीले भने पत्याएको छैन । डिआइजी राई उनी काठमाडौंमा विमानबाट उत्रिएदेखि नै निकै सतर्क रहने गरेकाले उनी जानजान कोकिन बोक्न नेपाल आएको हुन सक्ने बताउँछन् ।

दिल्लीबाट भित्रियो कोकिन
बिहीबार पक्राउ परेका बोलिभियाली नागरिक ब्राजिल, इथियोपिया, भारत हुँदै पुस २८ मा नेपाल उत्रिएका हुन् । ब्युरोले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उनी बोलिभियाबाट सामुद्रिक मार्ग हुँदै पुस २६ मा कोकिन राखिएको सुटकेससहित ब्राजिल आइपुगेका थिए । उनी सोही दिन ब्राजिलबाट हवाईमार्ग हुँदै कोकिन बोकेर २७ गते इथियोयिपा आइपुगे अनि भारतका लागि उडे । २८ गते भारतको दिल्ली उत्रिएका उनी सोही दिन कोकिनसहितको सुटकेस लिएर नेपालको त्रिभुवन विमानस्थल उत्रिएका थिए । कोकिनसहित कोही आउनसक्ने सूचनाको आधारमा ब्युरोको टोली विमास्थलमा उनै एन्डिएको प्रतीक्षामा थियो ।

ब्युरोका अधिकारीका अनुसार एन्डिएको सुटकेस जाँच गर्दा कोकिन लुकाएर राखेको देखिएको थियो । तर प्रहरीले उनलाई पक्राउ नगरी विमानस्थलबाट सहजै बाहिरिन दियो । उनी विमानस्थलको ट्याक्सी स्ट्यान्डमा पुगेर बाहिरिन थालेपछि ब्युरोको एक टोलीले पच्छ्याएको थियो । यसअगाडिका घटनामा कोकिन बोकेर नेपाल आउने व्यक्तिसँग कोकिन लिन अर्को टोलीसमेत काठमाडौं आएको देखिएकाले दोस्रो तहका कारोबारीलाई समेत पक्राउ गर्न प्रहरीले एन्डिएलाई सहजै बाहिरिन दिएको थियो । उनीहरुको अनुमानअनुसार नै कोकिन लिन बुधबार थाई युवती काठमाडौं उत्रिएर ठमेल पुगिन् ।

कोकिन - कहिले कालो, कहिले सेतो
नेपालमा पछिल्लोपटक कोकिन फेला परेको चार महिनापछि फेरि कोकिन बरामद भएको हो । असोज ९ मा प्रहरीले २ किलो कोकिनसहित बोलिभियाली नागरिकलाई पक्राउ गरेको थियो । त्यो कोकिन कालो थियो । त्यति बेला ब्युरोले बोलिभियाका एडमर एनेजलोपेज र भारतीय महिला कमर जहानलाई पक्राउ गरेको थियो । कालो कोकिन फेला परेको चार महिनापछि सेतो कोकिन फेला पर्यो ।सेतो कोकिनमा जिंक मिसाएर कालो बनाएर एनेजलोपेज बोलिभियाबाट ब्राजिल, दुबई हुँदै नेपाल आएका थिए । त्यही कोकिन लिन भारत लखनउकी जहान दिल्ली हुँदै हवाईमार्गबाट काठमाडौं आएकी थिइन् । यसअगाडि २०७३ साउनमा बोलिभियाली नागरिक रोसी गुड्डी र वारान्या काउपिकुल ३ किलो ५४ ग्राम कोकिनसहित पक्राउ परेको थियो ।

नेपालमा पहिलो पटक २०६८ पुस १२ मा कोकिन फेला परेको थियो । पहिलो कोकिन भरिया थाई महिला नै थिइन् । ब्युरोले एक किलो कोकिनसहित थाई महिला सुपरेत्ता मेक्यान्तोसलाई पक्राउ गरेको थियो । उनी पेरु, अर्जेन्टिना, कतार हुँदै नेपाल आएकी थिइन् ।  मलेसिया हुँदै थाइल्यान्ड जान विमानस्थल पुग्दा उनको झोलाको टुना फिसको बट्टामा कोकिन फेला परेपछि उनी यतै रोकिइन् । २०७० फागुन ६ मा नामिबियाका नागरिक रेमन्ड जुगु ओपेल २ सय ६९ ग्राम कोकिनको क्याप्सुलसहित पक्राउ परेका थिए । २०७१ जेठमा २ किलो ८ सय ग्राम कोकिनसहित फिलिपिनी नागरिक क्रिस्टिना हारो र पाकिस्तानी आइसा हुसेन तथा त्यही वर्षको चैतमा विनित जमाउद्दिन ११ किलो कोकिनसहित पक्राउ परेका थिए ।

२०७० को जेठ १२ मा २ किलो ६ सय ग्राम कोकिनसहित भेनेजुएलाकी यमरिस कारमिन, भारतीय नागरिक तोहिद खान, नेपाली दिलबहादुर गुरुङ र नाइजेरियाली मोहम्मद लिमा डोबा पक्राउ परेका थिए भने २०७२ चैत १५ मा २ किलो ७ सय ग्राम कोकिनसहित दक्षिणी अफ्रिकी एमपाथोनी मसानी र भारतीय नागरिक मेर्सी पक्राउ परे । २०७३ जेठ १६ मा चिनियाँ नागरिक चुन म्यान हो ३ किलो कोकिनसहित पक्राउ परेका थिए ।


 

प्रकाशित: ६ माघ २०७४ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App