२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान

उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्। त्रियुगा नगरपालिका ११ गाईघाट टेम्पुचोकस्थित राजु मोटरसाईकल वर्कसपमा आइतवार सल्केको आगो किराना पसलसम्म पुग्दा सो लाईनका ९ वटा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

साँझ ७ः१५ बजेतिर सुरु भएको आगो फैलिँदै गएपछि दक्षिणतर्फका थप ८ वटा पसलमा क्षति पुगेको हो। आगोले भने ग्यारेज र एउटा किराना पुसल तथा पान पसल पूर्ण रुपले जलेका छन्। आगो फैलिन नदिन सोही लाईनको शाही होटलसम्मका थप ७ वटा पसल स्काभेटर लगाएर भत्काइएको थियो।

सडकसँग जोडिएको त्रियुगा नमूना माविको पुरानो भवनका कोठाहरु भाडामा लिएर सञ्चालित ग्यारेज र पसलमा आगलागी भएको हो। ग्यारेजसँग जोडिएका किराना दोकान र  पान पसल जलेका छन् भने सोही लाईनमा रहेको घरेलु उद्योगका उत्पादित सामग्रीका पसल साझा कोसली घरदेखि शाही होटलसम्मका पसलहरु भने बचाउनका लागि नगरपालिकाको स्काभेटर ल्याएर भत्काइएको छ। 

आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ। ग्यारेजमा ममर्त गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाईकल तथा मोटर र लेथ मेसिन जस्ता यन्त्र उपकरणहरु पनि नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्द्रन चौधरीले क्षति भएका सामग्री र विवरणहरु अहिले नै पाउन नसकिने बताए।

अहिले आगो निभाउनमै सबै व्यस्त भएकाले वास्तविक क्षति बिबरण भोलि मात्र पत्ता लाग्ने उनले बताए। ‘अहिले सबै विबरण लिन गाह्रो छ, कति क्षति भयो भन्ने कुराको बिबरण भोलि मात्र थाहा हुन्छ’ डिएसपी चौधरीले भने ‘तर, ९ वटा पसलको क्षति करोडभन्दा माथि नै हुनसक्छ।’  

त्रियुगा माविका प्रधानाध्यापक सुभाष विष्टले आगलागी भएको थाहा पाउने बित्तिकै निभाउन दमकल बोलाउँदा बोलाउँदै ग्यारेज र किराना पसल जलेर ध्वस्त भएको बताए। उनका अनुसार आगो निभाउन तत्काल प्रहरी र सशस्त्रलाई जानकारी गराउदै दमकलका लागि त्रियुगा र चौदण्डीगढी नगरपालिलाई गुहार गर्दा धेरै क्षति हुन नपाएको बताए। प्रहरी, सशस्त्र र स्थानीयबासी मिलेर करिव डेढघण्टा लगाएर आगो नियन्त्रणमा ल्याएका छन्।  

प्रकाशित: २५ मंसिर २०८० ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App