१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पशुपतिमा बाला चर्तुदशीको तयारी पूरा

पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पशुपतिनाथ मन्दिरपरिसरमा आइतबार रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्य–सचिव राजुकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार कोषले बाला चतुर्दशीका अवसरमा दीप प्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतवीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ।

आफ्ना दिवंगत पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतवीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढंगले कार्य सम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए। 

उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतवीज मार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ।’

यसैगरी मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि शतवीज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मी टोली परिचालन गरिने कोषले जनएको छ। कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुन सक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ। यसैगरी छालाका जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ।

मदिराजन्य पदार्थ बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँठाउँमा सिसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्य–सचिव खत्रीले बताए। यसैगरी पशुपतिनाथ मन्दिरपरिसरमा मंसिर २४ रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतवीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।

आउँदो सोमबार शतवीज छर्दा तेह्रबुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ। कोषले ढुंगा छापेको ठाउँमा शतवीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाका साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ। 

कोषले कैलाश चौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतवीज भने छर्न पाइने जनाएको छ। बत्ती बाल्नका लागि कैलाश फेदी, पशुपतिनाथ मन्दिरपरिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ।

बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरवरपरका क्षेत्रमा माछा, मासु, जाड–रक्सी र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्री/वितरणमा रोक लगाइएको छ। आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतवीज छर्ने चलन छ।

पशुपतिनाथमा लाग्ने बाला चतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीबाट दक्षिणभित्रका सबै भागमा मंसिर २७ सम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरूपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव खत्रीले बताए।

उनले भने, ‘बाला चतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिरपरिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौं, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ।’

यसैगरी बाला चतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्क रूपमा (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको कोषका सदस्य–सचिव खत्रीले बताए। उनले भने, ‘बाला चतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन।’

पशुपतिनाथमा मंसिर २४ र २५ गते लाग्ने बाला चतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा. खतिवडाले बताए। –रासस

प्रकाशित: २३ मंसिर २०८० ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App