१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

जुम्लामा धमाधम मर्दै मौरी, पत्ता लागेन रोग

जुम्लामा अज्ञात रोगका कारण मौरीहरु धमाधम मर्न थालेपछि यहाँका मौरीपालक किसानहरु चिन्तित बनेका छन्।

जुम्लामा केही वर्ष अघिदेखि मौरीमा अज्ञात रोग देखिन थालेको हो। रोगले वर्षैपिच्छे यहाँका मौरीहरु नष्ट हुँदै गएका छन्।

बर्षेनी ४ देखि ५ करोड रुपैयाँसम्मको मह बेच्ने जुम्लाका किसान अहिले मौरी आफैलाई खान समेत मह उत्पादन हुन नसकेको बताउँछन्।

२०५४ सालदेखि मौरीपालन सुरु गरेका चन्दननाथ नगरपालिका- २ खोलिकोट गाउँका मौरीपालक किसान रामकृष्ण बुढ्थापाले आफ्नो अधिकांश घार अज्ञात रोगले सखाप पारेको सुनाए।

‘१ सय ३७ वटा घार थिए, आधा बिक्री गरे, आधा  रोगले सखाप पार्‍यो अब एउटा मात्र बाँकी छ’ उनले भने।

पहिलो साढे दुई क्विन्टल महबाट ५ लाखको आमदानी गरेको सुनाउँदै उनले भने ‘यो वर्ष ८ केजी मात्रै भयो, घरमै खान समेत पुगेन।’

रामकृष्ण एक उदाहरण किसान मात्र हुन्। उनी जस्तै यहाँका अधिकांश मौरीपालक किसान यही समस्याबाट निराश छन्। 

स्थानियहरुका अनुसार यस अज्ञात सङ्क्रमणपछि मौरी घारबाट ‘प्यारालाईसेस’ जस्तै भएर बाहिर झर्छन्, तर चल्ला उत्पादन गर्दैनन्। बाहिरबाट ल्याउनुपर्ने पुष्प रस ल्याउन सक्दैनन् र घार भित्र पस्न नपाउँदै मर्ने गर्छन्।

मौरीमा यस्तो संक्रमण देखिए पनि हालसम्म रोगको पहिचान हुन सकेको छैन। यस संक्रमणबारे यहाँका स्थानीयले मौरी विकास केन्द्र गोरावादीमा समेत गुनासो राखेका थिए। केन्द्रको टोलीले मौरी फार्म अवलोकन समेत गरे। तर ठोस रोग भने पत्ता नलागेको उनीहरुको भनाइ छ।

उक्त टोलीले किसानहरुलाई मौरीमा गोला व्यवस्थापन, सरसफाइ, चरन क्षेत्र व्यवस्थापन र कृत्रिम खाना व्यवस्थापन गर्न सुझाएका थिए।

कनकासुन्दी गाउँपालिका-४ लेपोरका धनजित बुढा पनि यस्तै समस्या छ। उनी भन्छन् ‘मौरीमा भएको संक्रमण परीक्षण गर्न ल्याब पनि छैन, विशेषज्ञ पनि छैनन्, अहिले जुम्लामा मौरी नै लोप हुने अवस्थामा छ।’ उनी कर्णाली मौरी सहकारी संस्थाका उपाध्यक्ष समेत हुन्।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख वालकराम देवकोटाले मौरीमा देखिएको अज्ञात रोगको पहिचान हुन नसकेको बताए। ‘रोगको परीक्षण भए रोग पत्ता लाग्ने थियो, यहाँ त न ल्याब छ, न कुनै मौरी विशेषज्ञ’ उनले भने। यसका लागि मौरी विकास केन्द्रमा पहल थालिने उनले बताए।

कर्णाली मौरी सहकारी संस्थाका जुम्लाका उपाध्यक्ष धनजित बुढाको भनाइ पनि यस्तै छ। ‘परीक्षण गर्ने ल्याब र विशेषज्ञ नभएपछि मौरी नै लोप हुने अवस्था छ। यहाँका किसानहरुले गरिरहेको विकल्प मध्य कुनै विधिले पनि काम गरेको छैन।’ उनले भने।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लामा झण्डै ५ हजार बढी मौरी घार छन्।

प्रकाशित: २२ मंसिर २०८० १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App