१७ फाल्गुन २०८० बिहीबार
समाज

रुसी सेनामा सम्पर्कविहीन बुवा अभिषेकलाई अबोध छोरीको पत्र

तस्बिर: छोरीले लेखेको पत्र,रुसी सेना बन्न पुगेका अभिषेक,उनकी पत्नी सविता।

‘म तपाईँलाई धेरै सम्झेको छु,!’ रुसी सेना बन्न हिँडेका बाबु अभिषेक बुढाको बोली नसुनेको दुई महिना भयो। दिनहुँ भिडियोमा देखिएर रुसबाट गफिने बाबुको अनुहारै देखिन्न अचेल। अनि बाबुको प्रेम अभाव र सम्पर्कबिहिनताले अत्तालिएकी २ कक्षामा अध्ययनरत रियाले मिलाई नमिलाई पत्र लेखिन् ‘छिटो आउनु न है बाबा!’

रुस पुगेका बाबुको नाममा लेखेको पत्र कसरी, कहाँ पठाउने? बाबु सम्पर्कमा छैनन्। सम्पर्क बिहिन भएका बाबुसँगको संवादहीनताले अबोध रियाको मन दिनहुँ आत्तिँदै गयो। अनि बाबुको पर्खाइलाई कागजमा कोरिन् ‘आई लभ यु बाबा, म तपाईँलाई धेरै सम्झेको छु र तपाईँलाई धेरै धेरै माया गर्छु, तपाई कहिले आउनु हुन्छ? छिटो आउनु न है।’

बाबु प्रति पोखिएको प्रेम भावका यी अक्षरलाई लुकाएर राखिरहेकी थिइन् रियाले। आमा सविता (अभिषेक पत्नी) ले छोरीको यो पत्र बिहीबार फेला पारिन्। छोरीको बुवा प्रतिको यो प्रेमले आमा सविताको मनझनै विक्षिप्त बन्यो। ‘नानीले यो चिठी लेखेर लुकाएर राखेकी रहिछे,’ सविताले रुँदै भनिन् ‘बिहीबार देखेँ, साह्रै रुन मन लाग्यो, बुवा कहिले आउनु हुन्छ भनेर छोरी पनि आत्तिइसकेकी छे।’

त्यसो त, दुई महिना देखि बाबु सम्पर्क बिहिन हुँदा गलेकी आमा सविताको रोदन रियाले दिनहुँ देख्छिन्। अनि सम्झाउँदै भन्छिन्, ‘बाबा सेनाको तालिममा हुनुहुन्छ होला,अनि कसरी फोन गर्न मिल्छ?’ बाबु रुसमा कमाउन पुगेको छोरी रियालाई थाहा छ। तर बाबु पुगेको देश रुस त्यति असुरक्षित छ भन्ने उनलाई बोध छैन। फलतः फोन सम्पर्क नहुँदैमा आत्तिन नहुने बलियो तर्कले आमालाई सम्झाई रहन्छिन् अबोध रिया।

दुई महिना देखि श्रीमान् सम्पर्कमा नहुनुले भने सविताको मनमा चिसो पसिरहेको छ। रुसको द्धन्दमा परि अप्रिय घटना भएको हुन सक्ने आशंकाले सवितालाई दिनहुँ गलाउँदै लगिरहेको छ। तथापी अबोध छोरीलाई यो थाहा दिएकी छैनन् सविताले। ‘श्रीमानसँग कुरा नभएको दुई महिना भइसक्यो,रात भरी निद्रै पर्दैन,’सविताले भनिन् ‘छोरी पनि रात भरी म सँगै बसिरहन्छे, बाबालाई केही भएको छैन, फ्री भएपछि फोन गर्नुहुन्छ भनेर मलाई सम्झाउँछे।’

गत भदौ २६ गते रुसी सेना बन्नका लागि नेपालबाट उडेका थिए रोल्पा त्रिवेणी नुवागाउँका अभिषेक। रुस पुगेका अभिषेकले आफू पुग्नासाथ सेनाको पहिलो क्याम्पमा पुगेको भनेर ह्वाट्स एप मार्फत सबितासँग कुरा गरेका थिए। ‘म आइपुगेँ, फस्ट क्याम्पमा बसेको छु भनेर भ्वाईस म्यासेज पठाउनु भयो,’ सविताले भनिन् ‘त्यहाँ भएको बेला उहाँले जीम गरिरहेको फोटो भिडियो पठाइरहनु हुन्थ्यो।’ पहिलो क्याम्पको केही दिनको बसाई पछि उनले आफू दोस्रो क्याम्पमा सर्न थालेको जानकारी दिएका थिए। उनले ह्वाट्स एप मार्फत गत असोज १५ गते बेलुका ५ बजे पठाएको दोस्रो म्यासेजमा भनेका छन् ‘म अब दोस्रो क्याम्पमा जाँदै छु, फोन नलाग्न सक्छु नआत्तिनु।’

१५ असोजमा दोस्रो हिँडेका अभिषेकले निरन्तर घरमा फोन सम्पर्क गरिरहेका थिए। सविताका अनुसार त्यहाँ उनलाई सैन्य तालिमका लागि पुर्‍याएको थियो। ‘सेनाको तालिम चलिरहेको छ भन्नु भएको थियो,’ सविताले भनिन् ‘दोस्रो क्याम्पमा हुँदा सम्म हाम्रो दिनहुँ कुरा भइरहन्थ्यो।’ दोस्रो क्याम्पमा सैन्य तालिम सकिएपछि अभिषेक तेस्रो क्याम्पमा सर्न थालेको जानकारी परिवारलाई दिए। ह्वाट्स एपमार्फत उनले २४ असोजमा पठाएको भ्वाईस म्यासेजमा भनेका छन् ‘हामीलाई तेस्रो क्याम्पमा लैजान थाल्यो, गाडी आइसक्यो, अहिले राखेँ तेस्रो क्याम्पमा पनि यो सिमले काम गर्‍यो भने कुरा गरौँला, फोन लागेन भने नआत्तिनु।’ भ्वाईस म्यासेजमा आफू हतारमा भएको सुनिन्छन् अभिषेक। त्यही छोटो संवादका क्रममा सविताले पैसाको कुरा गरिन्। अभिषेकले भ्वाईस म्यासेज मार्फतै भनेका छन् ‘म क्याम्प प्रवेश भएको एक महिना पनि त पुगेको छैन, अब एक दुई दिनमै पैसा हाल्दिन्छ होला।’

असोज २६ गते दिउँसो साढे २ बजे भएको यो संवाद पछि अभिषेक परिवारको सम्पर्क देखि टाढा भए। रुस पुगेको एक महिना सम्म दिनहुँ भिडियो संवाद भइरहेको सविता र अभिषेक बिचको यो सञ्चार दुई महिना देखि विच्छेद छ। रुस र युक्रेन बिच भइरहेको द्धन्दका खबरले मन छिन्नभिन्न पारिदिएको छ। ‘केही भइहाल्यो कि भन्ने डरले सताइरहेको छ,’ सविताले भनिन् ‘नत्र दुई,दुई महिना सम्म त फोन सम्पर्कमा आउनु पर्ने हैन र?’ अभिषेक र सविताको फोन संवादको माध्यम थियो, ह्वाट्स एप। दुई महिना यताका हरेक पल ह्वाट्स एपमा आँखा लागिरहन्छन् सविताका। नत अभिषेकको म्यासेज आउँछ, न सविताले पठाएको म्यासेज नै उनी पढ्छन्। ‘कति म्यासेज पठाएँ, म्यासेज नै हेरेको देखिन्न,’ सविताले भनिन् ‘उताबाट पनि एउटा म्यासेज आउँदैन।’ नत अभिषेकको बारेमा खबर दिनेनै कोही छ रुसमा। ‘उहाँ गएका उहाँका साथीहरूसँग मेरो कसैसँग पनि चिनजान भएन,को सँग कुरा गरेर बुझ्नु?’ सविताले भनिन् ‘कहाँ हुनुहुन्छ,कस्तो हुनुहुन्छ केही अत्तोपत्तो छैन।' 

नेपालमा छँदा ऋणको भारीले थिच्दै गइरहेको थियो अभिषेकलाई। आर्थिक आम्दानीका अनेकन उपाय अपनाए। तर यी उपायले उनको ऋणको भारलाई थेग्न सकेनन्। अभिषेकको परिवार घोराहीमा बस्दै आएको थियो। डेरा लिएर बसेको अभिषेकको परिवारको आयस्रोतको आधार निकै कमजोर थियो। अनि घोराहीमा अटो रिक्सा किनेर चलाउने निर्णयमा पुगे अभिषेक। तर अटो किनेर चलाउन सुरु गरेको केही समयमै कोभिड संक्रमण बढ्यो,लकडाउन भयो। ‘अटो भर्खर किनेका थियौँ, सुरुको बेलाको लकडाउन भयो,’ सविताले भनिन् ‘लकडाउन भएपछि अटो चलाउनै पाइएन।’ घोराहीमा डेरा गरी बस्दै आएको यो परिवार गृह जिल्ला रोल्पा फर्कियो। दाङमा किनेको अटो रोल्पामा कुदाउन थाले अभिषेकले।

तर अटो रिक्साको व्यवसायले ऋणको भारी कम हुने छाँट देखेनन् उनले। अनि फेरी दुई छोरा, एक छोरी र श्रीमती सहित दाङ घोराही झरे अभिषेक। यहाँ आएर विकास निर्माणको ठेक्का पट्टाको काम हेर्न थाले। ‘ठेकेदार अरु नै हुन्थे, उहाँले साइड हेर्ने काम गर्नुहुन्थ्यो,’ सविताले भनिन् ‘यो काम गर्दा गर्दै उहाँलाई विदेश जाने रहर जाग्यो।’ पोल्यान्ड पुर्‍याउने भन्दै रकम असुली गर्ने एक दलालको सम्पर्कमा पुगे उनी। अभिषेक ठगिए। पोल्यान्ड जाने भन्दै दुई लाख रुपैयाँ ती दलाललाई बुझाएका अभिषेक दुई बर्ष सम्म पोल्यान्ड उड्न पाएनन्। नत पोल्यान्ड जान भनेर बुझाएको रकम नै फिर्ता पाए । ‘दुई बर्ष सम्म पनि पोल्यान्ड पठाएन दलालले,’ सविताले भनिन् ‘नत पैसा नै फिर्ता दियो।’ पोल्यान्ड यात्रा असफल भएपछि अभिषेकको नजरमा रुस बन्न थाल्यो। तुलसीपुरका एक व्यक्ति मार्फत रुस जाने बाटोमा लाग्न थाले उनी। अभिषेकले सुरुमा यो कुरा परिवारलाई सुनाएनन्। रुस यात्राका लागि भिसा आएपछि मात्रै उनले परिवारलाई जानकारी दिए। ‘रुस जान लागेको भनेर भिसा आएपछि मात्रै मलाई भन्नु भयो,सुरुमा त उहाँले हामीलाई थाहै दिनु भएन,’सविताले भनिन् ‘तर मैले त्यहाँ जाने हैन, बरु साउदी, कतार मलेसिया जानुस् भनेर रोक्न खोजेँ।’

तर आर्थिक स्रोत कमजोर हुँदा विक्षिप्त जस्तै बनिसकेका अभिषेकले आर्थिक स्रोत बलियो बनाउने एउटा मात्रै गन्तव्य रुसलाई रोजे। ‘ग्रीन जोनमा हुँदा ढाई देखि तीन लाख रुपैयाँ र रेड जोनमा परियो भने चार लाख रुपैयाँ सम्म मासिक कमाई हुन्छ भन्नु भयो,’ सविताले भनिन् ‘तैपनि मैले मान्दै मानेको थिएन।’ सविताको आग्रहलाई अभिषेकले बेवास्ता गरिदिए र भने ‘म रुसमै जान्छु , मरी हालेछु भने पनि तिमीहरू राम्रोसँग बस्नु, अरु देशमा गएर ऋणको भारी फाल्न सकिन्न।’ अनि भदौ २६ मा रुस जान भन्दै विमान चढेका थिए अभिषेक। ‘सिधै रुस जान मिल्ने रहेनछ, कुन कुन देश हुँदै आइपुगेँ भन्नु भएको थियो,’ सविताले भनिन् ‘नजानुस् भन्दा नमानेर गएको मान्छे अहिले सम्पर्कमै हुनुहुन्न।’

नत रुसमा कसैसँग सम्पर्क, नत कसैले खोजी गरिदेला भन्ने नै आस। अनि ज्योतिष कहाँ हात हेराउन सम्म पुगिन् सविता। ‘हात हेराउन गएको भागेर दुई समुद्रको बिचको जङ्गलमा लुकेर बसेको भनेका छन्,’ सविताले भनिन् ‘बरु एक रुपैयाँ चाहिएन,उहाँ सकुशल घर आइदिए हुन्थ्यो।’ सविता दुई छोरा र एक छोरी सहित घोराहीमा डेरा गरी बस्दै आएकी छिन्। 

प्रकाशित: २२ मंसिर २०८० १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App