एक महिलासँग अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भए पछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ।
पर्सा मालपोत कार्यालय आकर्षक मानिन्छ। त्यहाँ जान प्रशासन समूहका कर्मचारीहरू मरिहत्ते गर्छन्। मन्त्रालय स्रोतका अनुसार सुरुमा विवादित उपसचिवलाई पर्सा मालपोतमा पठाउन भूमि व्यवस्था सचिव गोकर्णमणि दवाडी तयार थिएनन्। मन्त्रालय स्रोत भन्छ, 'विवादित उपसचिवलाई सकेसम्म महत्त्वपूर्ण ठाउँमा नपठाऔँ भन्ने सचिव ज्युको चाहना थियो। तर भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठको पहुँचको कारण उनी पर्सा जान सफल भए।'
यसअघि निरौला झापा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गत साउन १३ गते सरकारी क्वाटरमा एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन उनलाई चिठी काटेको थियो। मन्त्रालयले केही कुरा बुझ्नु पर्ने छ भन्दै निरौललाई मन्त्रालय बोलाएको थियो। त्यसको करिब ४ महिनासम्म निरौला मन्त्रालमा बसे। मन्त्रालयमा हुँदा उनलाई जिम्मेवारी दिइएको थिएन । यही मंसिरमा उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो। भूमि व्यवस्था आउने बित्तिकै उनलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ।
प्रकाशित: २१ मंसिर २०८० १२:०९ बिहीबार