१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमान् हत्या प्रकरण: छोरा पनि पक्राउ

श्यामकुमारको हत्या आरोपमा पक्राउ आमा छोरा।

केही दिनअघि श्रीमान् हत्या आरोपमा पक्राउ परेकी महिलाका छोरा पनि पक्राउ परेका छन्। 

गत १६ गते राति त्रियुगा नगरपालिका-५ दमौटी शुक्लाईका ६० वर्षीय श्यामकुमार राईको हत्या गरेको आरोपमा पक्राउ परेकी मृतककै श्रीमती निरकुमारी राईको बयानका आधारमा उनीहरुका छोरालाई पनि बुधबार पक्राउ गरिएको हो।

घरायसी विवादको क्रममा ४० वर्षीया निरकुमारीले घाँटी थिचेर श्रीमान्को हत्या गरी घरभन्दा ५ सय मिटर माथि जंगलमा लगेर खाल्डो खनी पुरेर स्याउलाले छोपेको अवस्थामा ३ दिनपछि प्रहरीले शव फेला पारेको थियो। श्रीमान्को हत्या गरी भोलिपल्टदेखि ‘बाख्रा चराउन गएको बुढा हरायो’ भन्दै गाउँघरमा खोज्दै हिँडेकी उनलाई विशेष सूचनाको आधारमा हत्या गरेको पत्ता लगाई प्रहरी चौकी लालपत्ताले नियन्त्रणमा लिएको थियो।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएकी निरकुमारीले बयानको क्रममा श्रीमानको शव छोरा सुरनको सहयोगमा जंगल लगेर गाडेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार १६ गते साँझ अन्दाजी ५ः०० बजेतिर श्रीमान् श्रीमतीबिच घरायसी विवाद सुरु भएको र विवाद चर्कँदै गएपछि आवेशमा आएर श्रीमानले लगाइरहेको गलबन्दी थुतेर घाँटी थिच्दा प्राण गएको बयान निरकुमारीले दिएकी छिन्।

हत्या गर्ने मनसाय नभए पनि आक्रमणबाट श्रीमान्को मृत्यु भएपछि बिखलबन्दमा परेकी उनले छोराको सहयोगले शव लगेर जंगलमा गाडेको रहस्य उनकै मुखबाट खुलेको डिएसपी चौधरीले बताए।

आमाको भनाइमा लागेर बाबुको शव पुर्न सहयोग गरेको आधारमा छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए।

प्रकाशित: २० मंसिर २०८० १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App