२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्‍यो !

युक्रेनमा रहेका नेपाली युद्धबन्दी

युक्रेनमा युद्धबन्दीका रूपमा सार्वजनिक भएका एक नेपालीले आफू अहिलेसम्म सकुशल रहेको र उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन्। ती नेपाली युद्धबन्दीले सामाजिक सञ्जालमा राखेको भिडियोमा आफ्ना बुबा–ममीलाई सम्झँदै उद्धारका लागि आग्रह गरिएको छ।

‘बुबा–ममी नमस्ते, म अहिलेसम्म यहाँ ठिकै छु, पछि के हुन्छ थाहा छैन,’ उक्त भिडियोमा भक्कानिएको स्वर सुनिन्छ, ‘यहाँ अन्य नेपाली पनि छन्, प्रधानमन्त्रीलाई भनेर हुन्छ कि, के गरेर हुन्छ, चाँडै निकाल्नुप¥यो। अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छु। एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैले यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’  

नाम र ठेगाना नखुलेका रुसी सेनामा कार्यरत ती नेपाली युक्रेनमा पक्राउ परेका हुन्। यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको थियो। बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँगको युद्धका क्रममा असोज अन्तिम सातादेखि युद्धबन्दीका रूपमा छन्। उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा परिवारको दुःख हटाउन आफू रुसी सेनामा भर्ती भएको बताएका थिए।  

रुसी सेनामा भर्ती भएका नेपाली युवा युक्रेनविरुद्धको लडाइँ लडिरहेको समाचार आइरहेका छन्। रुसले युक्रेनविरुद्धको युद्धमा खटाएका कतिपय नेपालीको अवस्था अज्ञात छ भने कतिपयको मृत्यु भएको समाचार सार्वजनिक हुन थालेका छन्।

रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत अहिलेसम्म ६ नेपालीको युक्रेनमा मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्तिअनुसार ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखा मेलङ–६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तान छन्।

नेपाल सरकारले नेपाली युवालाई रुसी सेनामा भर्ना नगर्न र भर्ना भइसकेकालाई तत्काल नेपाल फर्काउन रुस सरकारलाई आग्रह गरेको छ। मन्त्रालयले सम्झौताअन्तर्गत केही राष्ट्रको राष्ट्रिय सेनामा नेपाली युवा भर्ना हुँदै आएकोमा बाहेक अन्य देशका सेनामा भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ। पछिल्लो समय रुस पुगेका नेपाली युवा त्यहाँको सेनामा भर्ती हुने गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। युद्धग्रस्त देशहरूमा कामका लागि जान सरकारले श्रम स्वीकृति रोके पनि अरू देश भएर नेपाली युवा रुस पुगिरहेका छन्।

‘सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र जान मन्त्रालय हार्दिक अपिल गर्छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ, ‘कसैको प्रलोभनमा युद्धग्रस्त मुलुकहरूका सेनामा भर्ना नहुन पनि मन्त्रालय हार्दिक अनुरोध गर्छ।’

प्रकाशित: २० मंसिर २०८० ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App