१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंको घरमा किन पुगिन् नेहा ?

विगत एक वर्षदेखि न्यायको पर्खाइमा रहेकी दाइजो पीडित नेहा चौधरीले नागरिक बचाउ महाअभियानको नेतृत्वमा रहेका दुर्गा प्रसाईंको ढोका ढक-ढकाएकी छिन्।

चौधरीले दुर्गा प्रसाईंलाई भेटेर आफूलाई न्याय दिलाइदिन अपिल गरेकी हुन्। नागरिक बचाउ महाअभियानको नेतृत्वमा रहेका नेपाली राजनीतिक नेताहरुको कार्यलाई चुनौती दिँदै हालै काठमाडौँमा प्रदर्शन गरेका प्रसाईंले उनलाई सान्त्वना दिँदै उनको न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता जनाएको नेहाले बताइन्।

‘न्यायको खोजीमा मैले स्थानीय जनप्रतिनिधि, तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने लगायत शीर्ष नेताहरूसँग सहयोग मागेकी छु, तर उनीहरुले सान्त्वना मात्र दिएका छन्,’ नेहाले भनिन्, न्यायमा ढिलाइ हुँदा निराश भएर न्यायको लडाइँमा मैले दुर्गा प्रसाईंलाई भेटेकी हुँ।’

महोत्तरी निवासी नेहा पंकज चौधरीसँग प्रेममा परिन् र २०७८ फागुन २५ गते विवाह गरिन् तर विवाह भएको चार महिना नबित्दै पंकजले आफूलाई शारीरिक र मानसिक यातना दिएको नेहाको भनाई छ।

‘विवाह भएको केही दिनमै आफूलाई श्रीमान् र परिवारका सदस्यहरूले दुर्व्यवहार गर्न थाले,’ उनले भनिन्, ‘दाईजाको विषयमा लिएर समेत निकै दुर्व्यवहार गरे।’ 

ससुराको चाहनाअनुसार फर्निचर, सुन, नगद लगायत गरेर एक करोड २५ लाख खर्च भएको नेहाले बताइन्। त्यति हुँदाहुँदै पनि आफू माथि कुटपिट समेत हुने गरेको नेहाको भनाई छ। ‘मेरो श्रीमानले मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘पेटमा गहिरो चोट लागेकाले पिसाब गर्दा रगत समेत बग्ने गर्थ्यो।’

न्याय पाउन ढिलाइ भएका कारण कानुनी व्यवस्थाप्रति निराशा बढेको उनले सुनाइन्। ‘कानुनमा विश्वास गरेर एक वर्ष पर्खेँ तर न्याय भएन,’ उनले भनिन्, ‘भारतमा बस्दै आएका पंकज र उनको परिवारले मेरो जीवनलाई नर्क बनाइदिए।’

पंकज हाल भारतको सीतामढ़ीस्थित अस्पतालमा कार्यरत छन्। आफूलाई जेठाजुले मुद्दा फिर्ता लिन धम्की दिएर बारम्बार घरमा आउने गरेको नेहाले बताइन्। ‘यस्तो अवस्थामा मैले लुक्नु परेको छ, उनले भनिन्, ‘मलाई कुनै सुरक्षा प्रदान गरिएको छैन।’

नेहाको पिडा सुनेर प्रसाईँ पनि भावुक बनेका थिए। ‘उहाँले तिमी मेरी छोरी जस्तै हौ। घटनाको बारेमा सुन्दा मलाई दुःख लागेको छ। प्रसाईँको भनाई उद्धृत गर्दै नेहाले भनिन्, ‘उहाँले न्याय दिलाउने काममा सहयोग पुर्‍याउने बाचा गर्नु भएको छ।’

चोटपटकका तस्बिर र दाइजो हस्तान्तरण गर्ने बैंक स्टेटमेन्टलगायत प्रशस्त प्रमाण हुँदाहुँदै पनि न्यायपालिकाले पर्याप्त प्रमाण नभएको गुनासो गर्दै न्याय दिन ढिलासुस्ती गरेको नेहाको गुनासो छ। नेहा चौधरीका वकिल रिंकु यादवले पुस २७ गते पेशी तोकिएको बताउँदै न्यायको आशा अझै रहेको सुनाइन्।

प्रमाणमा आधारित कागजातहरू जाँच गर्न ढिलाइले न्याय प्रक्रियामा बाधा पुगेको नागरिक बचाउ महाअभियानकी सदस्य राधिका विश्वकर्माले बताइन्।

‘दाइजो पीडित चौधरीलाई न्याय दिएपछि अभियानको वास्तविक मर्म सुरु हुने छ, ‘उनले भनिन्, ‘चौधरीलाई न्याय दिलाउन पीडित र पीडक दुवै पक्षसँग वार्ता गर्न टोली महोत्तरी जाने तयारी भइरहेको छ।’

प्रकाशित: १९ मंसिर २०८० १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App