१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमान् हत्याको आरोपमा श्रीमती पक्राउ

आफ्नै श्रीमान्को हत्या आरोपमा यहाँकी एक महिला पक्राउ परेकी छिन्। त्रियुगा नगरपालिका-५ दमौटीका ६० वर्षीय श्यामबहादुर राईको हत्या आरोपमा उनकै श्रीमती ५० वर्षीया निरकुमारी राई पक्राउ परेकी हुन्।

१६ गते रातिको घटना भए पनि घटनाबारे जानकारी मंगलबार मात्र भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले ३ दिनअघिको घट्नाबारे प्रहरीले मंगलबार मात्र जानकारी पाएर निरकुमारीलाई पक्राउ गरेको बताए।

उनका अनुसार श्यामबहादुर राईको शव घरदेखि ५ सय मिटर टाढा जंगलमा गाडेको अवस्थामा फेला परेको हो।

प्रहरीले गाडेर राखेको अवस्थामा शव बरामद गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको छ। प्रारम्भिक जानकारी अनुसार घरायसी विवादमा झगडा हुँदा श्यामबहादुरलाई उनैले लगाइरहेको गलबन्दीले घाँटीमा बेरेर हत्या गरेको हुनसक्ने डिएसपी चौधरीले बताए। तर, अझै विस्तृत अनुसन्धान गर्न बाँकी रहेको उनको भनाई छ।

अहिलेसम्म खुलेको तथ्य अनुसार घट्नापछि मृतक पतिलाई जंगलमा लगेर गाडेको र भोलिपल्टदेखि हराएको भन्दै खोजी गरिरहेका बेला सोधपुछको क्रममा तथ्य सार्वजनिक हुँदै गएको हो।

‘अहिलेसम्म श्रीमतीबाटै हत्या भएको भन्ने अनुसन्धानले देखाइरहेको छ, तर विस्तृत अनुसन्धानले के भन्छ हेर्न बाँकी छ’ डिएसपी चौधरीले भने ‘हामी अनुसन्धान गरिरहेका छौँ, तथ्य अरू पनि खुल्न सक्छ।’

स्थानीयका अनुसार राति ठूलो स्वरले दुई जना झगडा गरेको गाउँलेले सुनेको तर, घटना भएको भन्ने चाहिँ कसैलाई थाहा थिएन। भोलिपल्टदेखि ‘बाख्रा चराउन जंगल गएको बुढो कता हरायो’ भन्दै गाउँ भरी खोज्दै हिँडेकी उनले स्थानीय बिजुवा (धामी) लाई हातसमेत हेराएकी थिइन्।

धामीले ‘मान्छे ज्युँदो छैन, तेरै हातबाट मरेको हुनसक्छ’ भन्ने जवाफ दिएको पनि गाउँलेले बताएका छन्। घट्नाको पर्सी पल्ट गाउँले सबै मिलेर सोधखोज गर्दा अन्तिममा उनले आफैले मारेर गाडेको जवाफ दिएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: १९ मंसिर २०८० १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App