१७ फाल्गुन २०८० बिहीबार
समाज

चिसोबाट बँच्न दाउराका लागि भाैंतारिंदै जुम्ली महिला

चिसोबाट बच्न दाउरा संकलन गर्दै जुम्लाका महिला। तस्बिर: गोल्डेन बुढा/नागरिक

केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।

उनीहरू हिउँदको चिसो कटाउन वनजंगलतिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्। मंसिर लागेपछि जाडो बढ्ने भएकाोत्रका महिलालाई जाडो छल्नका निमित्त दाउरा ओसारपोसार गर्न भ्याइनभ्याइ छ।

जुम्लामा हिउँ पर्ने समय पनि नजिकिँदै छ, यहाँ पुस महिनादेखि फागुन र चैतको अन्तिमसम्म हिउँ पर्ने गर्छ। हिउँ पर्नासाथ बाटो बन्द हुने हुँदा जाडो छल्ने पूर्व तयारीका लागि यहाँका महिलाहरू दैनिक तीनचार घण्टाको पैदल यात्रा तय गर्दै जंगलबाट दाउरा ल्याउने गर्छन्। कात्तिकभरि बर्खे बाली भित्राउन व्यस्त हुने जुम्ली महिला पुस लाग्न थालेसँगै दाउराको जोहो गर्न व्यस्त देखिन्छन्।

अहिले जुम्लाको अधिकतम तापक्रम १७ दशमलव ९ र न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ।

जाडो कटाउन घरमा ६/८ महिने दुधे बालक अरूकै भरमा छाडेर जंगल जान बाध्य भएको जुम्ली महिलाहरू बताउँछन्।

जुम्ला सिंजा ६ की कल्पना बुढा भन्छिन्, ‘दाउरा बालेर मात्र चिसोबाट बच्न सकिन्छ। यसका लागि बिहान बेलुकाको समयमा दाउराको जोहो गर्नमै जुट्ने गरेका छौं।’

चिसोमा दाउरा बाल्नेहरू बढेपछि स्थानीयले दाउरा बेच्ने क्रम पनि सुरु भएको छ। उनका अनुसार हरेक वर्ष हिउँदमा निश्चित समय तोकेर मात्र दाउरा संकलनका लागि खुला गर्ने गरिन्छ। यस अवधिमा मात्र दाउरा संकलन गर्न पाइने भएपछि चिसोको परवाह नगरी दाउरा संकलन गर्नुपरेको छ।

जुम्लामा वर्षाैदेखि गाउँका मुख्य टोली र वन उपभोक्ता समितिको समन्वयमा स्थानीयलाई जंगलमा रहेका सुकेका दाउरा फुकुवा गर्ने प्रचलन छ। जुम्ली महिला १५ देखि २० जनासम्म मिलेर दाउरा संकलनका लागि जंगल आउजाउ गर्ने गर्छन्।

हातमा पन्जा, मुखमा मास्क र खुट्टामा टालटुल गरेको मैलो जुत्ता, पिठ्युँमा डोको बोकेको अवस्थामा उनीहरू भेटिने गर्छन्। जाडोका कारण गाईगोरु पनि वनपाखा लान नसकिने हुँदा करिब साढे दुई महिनाजति घरमै राखिन्छ। यो चलन सिंगो जुम्लाको अवस्था र व्यवस्था हो।

जुम्ली माहिलाहरू बिहान सबेरै तीन घण्टाको उकालो हिँडी जंगल पुगेर दाउरा संकलन गरेपश्चात् ओसारपसारका लागि हुनेले घोडा वा खच्चडको प्रयोग गर्दछन् भने नहुनेले आफ्नो पिठ्युँमा बोकेर ल्याउने गर्छन्।

पुस महिनादेखि फागुनको दोस्रो सातासम्म त गाइवस्तु, भेडाबाख्रासमेत जंगलमा चराउन लैजान नसकिने स्थानीयहरू बताउँछन्। यसबिचमा दुई महिनाभन्दा लामो अवधि गाइवस्तु घरमै राखिन्छ।

चरिचरन क्षेत्र पूरै हिउँले ढाकिएको हुनाले पनि गाइवस्तु बाहिर निकाल्न नसकिने अर्की स्थानीय महिला आउसी बुढा बताउँछिन्। स्थानीयहरू भने घरमै आगो बालेर गेडागुडी पकाएर खाने प्रचलन छ।

पछिल्लो समय भने जुम्लामा दाउरा खोजेर ल्याउने र बजारतिर बिक्री गर्ने गरेको पाइन्छ। अन्य महिना खेतीपातीमा व्यस्त हुने र जाडोको मौसम फुर्सदिलो हुने भएकाले पनि जंगलमा सुकेका दाउरा खोज्न दिइने गरेको बुढाले बताइन्। जसको घरमा दाउरा हुँदैन, उसको घरमा कहिल्यै तातो हुँदैन।

प्रकाशित: १९ मंसिर २०८० ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App