१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिकस्थलमा सुर्ती प्रयोग गरे १ लाखसम्म जरिवाना

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ।

महानगरपालिकाले महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० र सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार यही मंसिर २७ देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

महानगरपालिकाको निर्णय कार्यान्वयसँगै रेष्टुरेन्ट, बार, चमेना गृह, भोजनालय, छात्रावास, कभर्ड हल, लज, अतिथि गृह, पुल हाउस, रंगशाला, शारीरिक सुगठन व्यायाम केन्द्र, सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्धाआश्रम, सार्वजनिक शौचालयमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरण गर्न पाइने छैन।

त्यस्तै अनाथआश्रम, बाल उद्यान, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाल, सांस्कृतिक केन्द्र, होटेल, मोटेल, रिसोर्ट, धर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्टलगायत स्थलमा पनि सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीमा रोक लाग्नेछ।

सार्वजनिक स्थलदेखि २ सय मिटर टाढा बन्द प्याकेटमा मात्र चुरोटलगायत सुर्तीजन्य पदार्थ बिक्री गर्न पाउने व्यवस्था ऐनले गरेको छ। १८ वर्षमुनिका बालबालिकालाई भने सुर्तीजन्य पदार्थ विक्री गर्न ऐनले रोक लगाएको छ।

कारागार, विमानस्थल वा पर्यटकीयस्तरको होटेलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाउने व्यवस्था व्यवस्थापकले मिलाउन सक्ने छन्।

‘ऐनले तोकेको ठाउँमा चुरोट बिक्री र प्रयोग गर्न पाइनेबाहेक अन्य सुर्तीजन्य पदार्थ पूरै निषेध गर्ने तयारीमा छौं,’ काठमाडौं महाननगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले भने। उनले महानगरपालिकाको निर्णय कार्यान्वयनका लागि सुर्तीजन्य पदार्थका डिलर र उत्पादक कम्पनीलाई १५ दिनको म्याद राखेर जानकारी गराइएको उनले बताए।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन बनेको १२ वर्षसम्म पनि सरकारले कार्यान्वयनमा ल्याउन सकेको छैन। यस्तो अवस्थामा काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थ्लमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा प्रतिबन्ध लगाउन सम्भव छ त भन्ने प्रश्नमा महानगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पाण्डेले निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

‘कसैले सार्वजनिक स्थलमा बिक्री गरे प्रहरीले जफत गर्नेछ, कसैले प्रयोग गरे जरिवाना लाग्ने छ,’ उनले भने, ‘असम्भव भन्ने लाग्दैन, ऐनअनुसार चल्ने हो।’

सार्वनिक स्थलमा कसैले सुर्तीजन्य पदार्थ प्रयोग गरे काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐनअनुसार २५ हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुन सक्छ।

त्यसैगरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग गरी फोहोर गरेमा फोहोरमैला ऐनअन्तर्गत कारबाही हुने महानगरपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए।

प्रकाशित: १८ मंसिर २०८० ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App