१७ फाल्गुन २०८० बिहीबार
समाज

सुनिता भन्छिन, ‘स्त्रीलिंग हो कि पुलिंग हो हेरौ भन्थे'

लैंगिक तथा यौनिक अल्पसंख्यकले वैदेशिक रोजगारीमा पनि दुर्व्यवहार भोग्नुपरेको छ। यस्तै दुर्व्यवहार भोग्नेमध्येकी एक हुन्– ४० वर्षीया सुनिता लामा। जन्मले पुरुष भए पनि सुनिता आफूलाई महिला ठान्छिन्। उनी आफूलाई सुनिताकै नाममा चिनाउन रुचाउँछिन्। वैदेशिक रोजगारीमा जाँदा भने उनी पुरुष पहिचानमा बिदेसिएकी थिइन्। 

‘करिब १७ वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेकी थिएँ। पुरुष पहिचानमा त्यहाँ पुग्दा धेरै लाञ्छना सहनुपर्‍यो,’ सुनिता भन्छिन्, ‘कम्पनीमा काम गर्दा सबै साथीले छक्का भनेर दुर्व्यवहार गर्थे। धेरै साथीले जिस्क्याउने क्रममा कपडा खोलेर देखाउनसमेत भन्थे।’

स्त्रीलिंग हो कि पुलिंग भनेर हैरान पार्ने गरेको उनले बताइन्। ‘विदेश पुगेको वर्ष दिन नहुँदै रोजगारदाताले पनि लैंगिक विभेद गर्दै स्वदेश फर्काइदिएको हिजो जस्तै लाग्छ,’ उनी भन्छिन्, ‘मेरो जीवनकथा सुन्नेलाई होइन, भोग्ने म स्वयंलाई अनौठो लाग्छ।’

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी बिदेसिएकी थिइन्। परिवारमा दुई आमाबाट १४ सन्तान जन्मिए पनि सुनिताले आफूलाई बीचतिरको भन्न रुचाउँथिन्।

उनले दुबईबाट दुई लाख रूपैयाँभन्दा बढी ल्यएको र चितवनमा जग्गा किनेको बताइन्। दुबईमा रोजगारदाताले आफूलाई ‘ट्रान्सजेन्डर’ भन्दै स्वदेश फर्काइदिए पनि काम गरेको अवधिको पारिश्रमिक भने दिएको उनले सुनाइन्। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकै भएका कारण दोर्‍याएर विदेश जानै नमिल्ने गरी राहदानी निलम्बन गरिदिएको गुनासो उनले गरिन्। समयक्रममै सुनिताको भेट सुनिलबाबु पन्तसँग भयो।  

‘सुनिबाबु पन्तका कारण मैले मेरो यौनिकता थाहा पाएँ। मैले पुरुषका रूपमा व्यवहार गरिरहेको भए पनि भित्रबाट म महिला हुँ भन्ने बुझें। मलाई सधैं महिलाको शृंगारले आकर्षित गर्‍थ्यो। महिलाका कपडासँग म आफूलाई मैत्री पाउँथे,’ उनी भन्छिन्, ‘तर मलाई यो समाजले पुरुष भनेर चिनेको थियो। मैले सर्ट–पाइन्ट लगाउन छाडें। महिला नै हुँ भन्ने आभास भयो। महिलाकै पहिरनमा रमाउन थालें।’

जीवन भोग्ने क्रममा एकदिन उनको आफू जस्तै साथीसँग भेट भयो। ती साथीमार्फत उनी काठमाडौंको ठमेलमा जाने गरिन्। ठमेलको पहिलो रात स्मरण गर्दै उनले भनिन्, ‘त्यो दिन म साँच्चै राम्री भएकी थिएँ। म केटी झैं देखिएकी थिएँ। त्यहाँ म जस्त धेरै थिए।’

त्यसपछिका दिनमा ठमेलका ग्राहक र त्यहाँको वातावरणले सुनितालाई आकर्षित गर्‍यो। दिनहरू बित्दै जाँदा उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको पक्षमा काम गर्ने संस्थामा डेढ दशकजति काम गरिन्।  

उनले काठमाडौंमा होटेल व्यवसाय पनि गरिन्। सुरुमा राम्रैसँग चलेको उनको यो व्यवसाय धेरै समय भने टिक्न सकेन। ‘सुरुसुरुमा होटेल धेरै राम्रोसँग चलेको थियो,’ उनले भनिन्, ‘एक दिन होटेलमा आएकी एक साथीले ग्राहकलाई म ट्रान्सजेन्डर भएको सुनाइन। त्यसपछि त आइरहेका ग्राहक पनि आउन छाडे। होटेल व्यवसाय सुक्दै गयो।’

दिन बित्दै जाँदा विभिन्न सोचका मानिस भेटेको अनुभव उनले सुनाइन्। बिस्तारै समाजले आफूहरूलाई बुझ्न थालेको उनले बताइन्।  

यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि काम गर्ने क्रममा ‘मायाको संसार’ भन्ने संस्था खोलेको पनि उनले सुनाइन्। ‘यो संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक, महिला र पुरुष यौन श्रमिकको समस्या सुन्ने र उनीहरूको अधिकारका लागि लड्ने काम गर्छ।’ बोल्न र सुन्न नसक्ने लाई बेकरी क्याफे, बाजेको सेकुवा जस्ता पसलधनीले रोजगारी दिँदै आएको औंल्याउँदै मेकअप आर्टिस्ट समेत रहेकी उनले ट्रान्सजेन्डरलाई पनि सरकार र निजी क्षेत्रले रोजगारी दिनुपर्ने बताइन्।  

वैदेशिक रोजगारीमा गएका लैंगिक तथा यौनिक अल्पसंख्यकले धेरै समस्या भोग्नुपरेको ‘मितिनी नेपाल’ की कार्यकारी निर्देशक सरिता केसीले बताइन्। उनीहरूलाई लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण विदेशबाट स्वदेश फर्काइने गरेको उनले सुनाइन्। उनले भनिन्, ‘यो समुदायका मानिसलाई विदेश जान पनि सजिलो छैन।’

यो समुदायका मानिस आफ्नो पहिचान लुकाएर विदेश जान खोज्छन्। तर उनीहरूलाई एजेन्ट तथा म्यानपावर कम्पनीले विदेश जान मिल्दैन भनेर सुरुमै अस्वीकार गर्ने सरिताले बताइन्। पहिचान लुकाएर विदेश पुगे पनि वास्तविकता खुल्ने डरले सताउने लैंगिक तथा यौनिक अल्पसंख्यकहरू बताउँछन्।  

आफ्नो वास्तविक पहिचान लुकाएर विदेश जानेमध्ये धेरै घरेलु काम गर्ने र पढ्ने रहेको मितिनी नेपालकी केसीले बताइन्।  

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार सामान्यतया लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिस रोजगारदाताको मागभित्र पर्दैनन्। तर कुनै मुलुकमा कामका लागि जान श्रम स्वीकृत लिन आए दिन तत्पर रहेको उनले बताए।

प्रकाशित: १७ मंसिर २०८० ००:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App