१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

शीतलहरसँगै चिसियो मधेस

पराल ओछ्याएर चिसो छल्दै लहान १ स्थित मुसहर बस्तीका विपन्न बालबालिका । तस्बिरः मिथिलेश यादव

लहान – करिब एक सातादेखि चलेको पश्चिमी तेज हावाका कारण मैसम चिसिएर जाडो बढेपछि चिसोले सिरहामा तीनजनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह, ननगडीमाई नगरपालिका ७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार २ लालपुरका ८० वर्षीय रामप्रसाद महतोको चिसोले मृत्यु भएको छ ।

मौसममा आएको फेरबदलस“गै जाडो वा गर्मी स्वभावीक प्राकृतिक हो । चरम जाडो वा चरम गर्मीको अवस्थाले मानिसको दैनिक जीवन प्रभावित पार्ने मात्रै होइन, अत्यधिक जाडो वा गर्मीका कारण मानिसको स्वास्थ्य र ज्यानैसमेत जोखिममा पर्दै आएको छ । शीतलहरका कारण सप्तरी र रौतहटलगायतमा गरी ९ जना सर्वसाधारण मृत्यु भइसकेको छ। 

लहान–१ की लक्ष्मी सदायले जाडोको कष्टपूर्ण अनुभव सुनाइन,‘उपरके भगवान जाड दैछै, निचाके भगवान मरैत छोइर दै छै, दुनु भगवान बेइमाने छै (माथिको भगवानले कठ्यांग्रिदो जाडो दिन्छ, तलको भगवान हामीलाई मर्न छाडिदिन्छ, दुवै भगवान हाम्रा लागि बेइमान हुन) ।’ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका लक्ष्मीजस्ता विपन्नको जीवनमा अत्याधिक चिसोले झनै कष्ट थपिदिएको छ।

जमिन्दारको धान काटिदिएपछि त्यहीबाट पराल पाउँछन यी विपन्नहरूले। त्यो पराल उनीहरु सुत्ने चिसो भुई तताउन, ओड्न र चुल्हो बाल्न सम्म पुर्याउनु पर्छ । जाडो बढेपछि यी समुदायमा खलबली मच्छिन्छ। मजदुरी पेसामा आश्रित उनीहरूलाई घर बाहिर गएर काम गर्ने समेत हिम्मत हुदैन, कारण बाहिरको चिसो छल्ने न्यानो कपडाको अभाव ।

आफूले मजदुरी गरी कमाएको पैसाले बालबच्चा र आफ्नो पेट भर्नै हम्मे पर्ने लक्ष्मी बताउँछिन्। ‘मजदुरी गरेर कमाएको दुईचार पैसाले पेट भर्ने कि जिउ तताउने लुगा किन्ने ? सुशिला सदाले विपन्नतालाई जाडोसँग जोड्दै भनिन,‘ गरिबका लागि न हिजो कोही थियो न आज । नगरपालिकामा पहिला कर्मचारी थिए । अहिले जनप्रतिनिधि आएको छ तर, हामीप्रति हिजोका नेतृत्वजस्तै आजका पनि बेपरवाह देखिए, उनले भनिन् । जनप्रतिनिधि हामी गरिबको ज्यान जोगाउन न्यानो बोकेर आउने आसमा जसोतसो बाँचेको छुँ उनले भनिन्,‘अहिलेसम्म कोही आएनन् । सशस्त्र प्रहरीले होटल, लज र राजमार्गका पसल अगाडि दाउरा बालेको सुन्छु तर, विपन्न वस्तीमा कोही आएनन्।’  

सरकारले अत्याधिक चिसोबाट बच्न लक्ष्ाित समूदायका लागि नीति र सहयोगको कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छैन् । न्याना कपडाको जोहो गर्ने आर्थिक समथ्र्य नभएका समुदाय  सुत्ने, ओढ्ने र ओछयाउने सामग्रीको अभावमा चिसो भुइमै सुत्न बाध्य छन् । अभाव र गरिबीको जीवन जिउने समुदाय र वृद्ध बालबालिकाहरूले आकालमै ज्यान गुमाइरहेका छन् । 

अत्यधिक जाडोमा जोखिमको जीवन बाँचिरहेका समुदायको पहिचान गरी चेतनासँगै न्यानो लुगा वितरण गर्न स्थानीय प्रसाशन अगाडि बढेको देखिएको छैन । जाडोबाट मानिसको मृत्यु नभएसम्म स्थानीय प्रशासनले न्यानो कपडा, आगो ताप्न दाउरा, बाढेको पाइदैन् । 

सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भने,‘जाडो जुगौदेखि आइरहेको छ, आफैले बाँच्ने उपाय अपनाउनुपर्यो नी ।’ जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेको श्रेष्ठले भने,‘दैवी प्रकोप उद्धार समितिसँग केही छैन्, के दिनु।’

झन्झटिलो सरकारी राहत प्रक्रिया
चिसोले कठ्यांग्रिएर मर्ने परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत जनही २५ हजार दिने भनेको छ । तर, राहतको प्रक्रिया भने झन्झटिलो छ । यो राहत रकम प्राप्त गर्न पीडित परिवारले आफन्तको मृत्यु चिसोकै कारण भएको प्रमाण पेस गर्नुपर्ने प्रावधान छ । जसका लागि पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण चिसो उल्लेख हुनुपर्छ । चिसोले मृत्यु भएपछि पोष्टमार्टम गराउन मानिस झन्झट मान्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

चिसोले सप्तरी र रौतहटमा मृत्यु भएका नौ जनामध्ये कसैको पोष्टमार्टम भएको पाइएन । पोष्टमार्टम नभएपछि सरकारी राहतका लागि चाहिने प्रमाण पुर्याउन नसकेर राहतबाट बञ्चित हुनुपर्ने अवस्था छ।

चिसो बढेपछि विद्यालय बन्द
चिसो बढेर जनजीवन कष्टकर बनेको भन्दै आइतबार बसेको शिक्षा समितिको बैठकले माघ १ गत्ते सम्मका लागि जिल्लाभरका विद्यालय बन्दको निर्णय गरेको छ। 

दिनभर हुस्सु लागेर शीतलहर लाग्ने क्रम सुरु भएकाले विद्यार्थीलाई विद्यालय आउन असहज भएपछि सोमबारदेखि शुक्रबारसम्म सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । मौसम अनुकुल भएपछि आइतबारबाट पठनपाठन सुचारु गर्ने भनेका थियौँ, शिक्षा अधिकारी महेन्द्र महतोले भने,‘मौसम झनै चिसिदै गएपछि बन्दको अवधी थप गर्ने निर्णय गरेका छौं।’

 

प्रकाशित: २३ पुस २०७४ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App