१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मकवानपुरगढीको सुकौराबाट कान्तिलोकपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर धवाडीपुलबाट करिब १२ मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी २ कुर्लेपाखाका ३५ वर्षीय भीमबहादुर स्याङ्तान, उनको ३४ वर्षीया श्रीमती रुपा स्याङ्तान र करिब ४/५ महिनाकी छोरी रहेका छन्।

रुपा र बालिकाको घटनास्थलमै मृत्यु भएको हो भने भीमबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

‘मकवानपुरगढीबाट हेटौंडा आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई पुलबाट खस्दा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो’, प्रवक्ता भण्डारीले भने, ‘मोटरसाइकल चालकलाई थप उपचारको क्रममा भरतपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।’

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८० १३:१९ बिहीबार