६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राजधानी माग्दै जुम्लामा सिट्ठी जुलुस

जुम्ला – कर्णालीमा राजधानी हुनु पर्ने माग गर्दै थालिएको आन्दोनको तेस्रो दिन जुम्लामा सिट्ठी जुलुस निकालिएको छ । पहिलो दिन विरोध प्रदर्शन, दोस्रो दिन राके जुलुस गरिएकोमा तेस्रो दिन सिट्ठी जुलुस मार्फत राज्यको ध्यानाकर्षण गरिएको हो । नागरिक समाज जुम्लाको अगुवाईमा सिट्ठी जुलुस निकालिएको हो । आन्दोलनका विभिन्न रुप अपनाउँदै राज्यको ध्यान केन्द्रित गर्न खोजिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए। 

सिट्ठी जुलुस जिल्ला समन्वय समितिको कार्यालय जुम्लाबाट शुरु भई  विजयनगर हुँदै कृष्ण मन्दिर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि कोण सभामा परिणत भएको थियो।  कोण सभामा बोल्दै युवा अगुवा अनुप थापाले राज्यले प्रदेश सभाको राजधानी टुंगो लगाउने जिम्मा प्रदेश सभालाई दिएर पिछडिएको क्षेत्रलाई बाइपास गर्न लागेको आरोप लगाए। उनले भने, फेरि पनि कर्णालीलाई अल्पमतमा पारेर सुर्खेतको रजाई सहनु पर्ने बाध्यता आउँदैछ, तर यसका लागि कर्णालीवासी सहेर नबस्ने बताए । उनले भने, सिंहदरवारबाट ठगिएको कर्णाली फेरि सुर्खेतको सिकार बन्दै छ, यो सैह्य हुने छैन ।  त्यसका लागि राज्यले समयमै कर्णालीलाई संबोधन गर्नु पर्नेमा जोड दिए।  

समाथ्र्य र पहिचानका आधारमा ६ नम्वर प्रदेशको राजधानी कर्णाली मै तोकिनु पर्ने, राजधानी तोक्नका लागि प्रशासनिक सुगमता, भौगोलिक र वैज्ञानिक मापदण्ड प्रयोग गर्नु पर्ने मागसहित जुम्लामा आन्दोलन शुरु भएको छ। यसैगरी राज्यको मुलधारमा नआउन्जेल कर्णालीलाई साविकको पिछडिएको उत्पीडित क्षेत्र कायम गर्नु पर्ने र भूगोलको अपमान गरी निर्वाचन क्षेत्र बाँडफाँड गरिएकोले सम्मानसहित कर्णालीका ५ जिल्लाको निर्वाचन क्षेत्र दोब्बर गरिनु पर्ने माग गरिएको छ।

कर्णालीलाई अपमान गरी सुर्खेत राजधानी गर्ने प्रयास गरिए अझै कडा आन्दोलनका कार्यक्रम अघि सारेर साविकको ५ जिल्लाको विशेष अधिकारसहितको भिन्नै स्वायत्त प्रदेशका पक्षमा आँधीबेहोरी सृजना गर्ने चेतावनी नागरिक समाज जुम्लाले दिएको छ । नागरिक समाजले शुरु गरेको आन्दोलनमा व्यवसायी, उद्योगी, युवा, महिला, जेष्ठ नागरिक सबैले साथ दिएका छन्।   

प्रकाशित: २२ पुस २०७४ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App