३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

‘हात्तीले घर भत्कायो, अब हामी कहाँ बस्ने ?’

हात्तीले क्षति पुर्‍याएको नैनाकुमारी राईको घर।

जङ्गली हात्तीको समूहले इटहरी वडा नं. २ की नैनाकुमारी राईको मंगलबार बिहान घर भत्काएर क्षति पुर्‍याएको छ। बिहान ४ बजेदेखि ५ बजेको अवधिमा अलग–अलग तीन वटा समूहमा आएका हात्तीले घर भत्काएर क्षति पुर्‍याएको हो।

‘बाँदर आएको ठानेर बिहान ४ बजेतिर ढोका खोलेर बाहिर निस्किन खोजेको त ढोकामै हात्ती देख्दा आङ् सिरिङ् भयो, भित्रै लुकेर बस्यौ,’ नैनाकुमारीकै छोरी करुणले भनिन, ‘अब आजदेखि (मंगलबार) कसरी राति बिताउने ? गाह्रो हुने भएको छ।’

उनका अनुसार सुरुवातमा १२ वटा, त्यसपछि तीन वटा र अन्तिममा एउटा हात्ती बस्तीमा प्रवेश गरेका थिए। हात्तीले घर भत्काए पनि घरमा रहेका तीनै जनालाई भने कुनै क्षति भएको छैन।

‘धान्न, हामी तीनै जनाको ज्यान बच्यो,’ करुणले भनिन्, ‘अब यही घर बनाएर बस्ने वा अन्यत्र बस्ने टुंगो लागेको छैन।’

नैनाकुमारीले इटहरी उपमहानगरपालिका वडा नं. २ को वडा कार्यालयमा गएर हात्तीले गरेको क्षतिको विवरण टिपाएकी छन्। विशेषगरी चारकोसे जंगल छेउछाउमा जंगली हात्तीले श्रृखलाबद्द रुपमा घर भत्काउने र बालीनाली क्षति पुर्‍याउने क्रम बढ्दो छ।

दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो। सामान्य बासको बेरा र टिनको छाना लगाएर बनाएको घर भत्काएपछि उनले कष्टकर जीवन बिताइन्। मंगलबारदेखि भने नेपाल तरुण दल सुनसरीले उनलाई घर बनाएर हस्तान्तरण गरेको छ।

१४ वर्षसम्म उदयपुरको बेलका वडा नं. ३ को कोशी टप्पुको ऐलानी जग्गामा बसेर केही वर्षदेखि इटहरी वडा नं. २ को पर्यटकीय स्थल तालतलैयाको जंगल नजिकै घर बनाएर बसेकी लक्ष्मीले दुई महिनासम्म कष्टकर जीवन बिताएपछि मंगलबार काँग्रेस निकट तरुण दलले दुई कोठे घर बनाएर हस्तान्तरण गरेको छ। तरपनि उनलाई ढुक्क छैन।

सोमबार रातभरी जागै बसेर मंगलबार दिउँसो १३ महिने छोरी आराम गरिरहेको अवस्थामा भेटिएकी उनले भनिन, ‘राति भरी हात्तीको त्रासले गर्दा सुत्न पाइदैन्।’

इटहरी वडा नं. २ मा पाँच वर्षपछि ठूलो संख्यामा बेला बेला हात्तीले बस्तीमा प्रवेश गरि आतंक मच्चाउँदा ज्यान जोगाउने चिन्ताले सताएको स्थानीय राधिका परियारले बताइन्।

‘अरू बेला पनि हिउँदको वेला एउटा–दुईवटा हात्ती गाउँमा प्रवेश गर्थे, तर यति ठूलो संख्यामा हात्ती गाउँ पसेको याद थिएन,’ उनले भनिन्। हात्तीको त्रासले गर्दा इटहरीको विशेषगरी वडा नं. २ का बासीनदा रातभरी निदाउँदैनन्।

यसरी जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना बितिसकेको छ। यो अवधिमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन। तर, एकपछि अर्को घर–टहरा भत्काएर क्षति पुर्‍याउने क्रम बढ्दो छ।

विशषेगरी, जङ्गल क्षेत्र आसपासका बस्तीमा तीन वटा कारणले हात्ती लोभिने गरेको पाइएको छ। पहिलो जङ्गल क्षेत्रमा वग्रेल्ती बास झयाङ्ग भएकाले बासको मुना (तामा) हात्तीका लागि लोभिने आहारा भएकाले गर्दा बढी मात्रमा आउने गरेको स्थानीयको अनुभव छ। अर्कातिर ग्रामीण क्षेत्रमा कतिपय परिवारले घरेलु रक्सी बनाउने भएकाले गर्दा त्यसको वासनाले गर्दा पनि बढी मात्रमा हात्ती बस्तीमा प्रवेश गर्न खोज्ने गरेका छन् । तेस्रो इटहरी वडा नं. २ क्षेत्रमा केरा खेती भएकाले गर्दा पनि हात्ती त्यसतर्फ लोभिने गरेका छन्।

‘हिजो चाहिँ जंगल जाने पनि ज्यान बचाएर आयौँ भन्थे,’ मंगलबार दिउँसो स्थानीय सोनु तामाङ्ले भनिन, ‘आज बिहान हात्ती आएर गाउँमा घर भत्काएर बस्तीभरि सुड अगाडि–पछाडि गर्दै हिँड्दा सबै गाउँले घरभित्र पसे अनि मात्र सुरक्षित भयौं।’ ठूलो हात्तीको समूहलाई प्रतिकार गर्न जाँदा मानवीय क्षतिको खतरा थियो।

हात्तीले पाकेको धान र कोदो नष्ट गर्ने गरेको छ। यस्तै, भर्खरै तोरी लगाएको हुनाले तोरीबारीमा हात्ती हिँड्दा पुरै नष्ट हुने गरेको छ। किसानले लगाएको उखु र केरा पनि नष्ट हुने गरेको छ।

‘हाम्रो गाउँमा जंगली हात्तीलाई नियन्त्रण गर्ने एउटै उपाय छ, जंगल छेउछाउ बिजुली बत्ती बाल्ने व्यवस्था मिलायो भने बत्तीका कारण जंगली हात्ती सजिलै भाग्छन्,’ जंगली हात्तीको मुख्य निसाना क्षेत्र तालतलैयाको माथिल्लो पश्चिम टोलकी धुव्रा तामाङ्ले भनिन्।

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन्। इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आँतक मच्चाउने गरेका छन्।

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन्। यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिँडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए।

प्रकाशित: १२ मंसिर २०८० ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App