१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

दुई जनाको ज्यान लिने बाघलाई यसरी लिइयो नियन्त्रणमा

मकवानपुरमा दुई जनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।

चितवन राष्ट्रिय निकुञ्जको टोलीले हिजो साँझ ८ः४५ को समयमा लोथर मध्यवर्ती सामुदायिक वन स्थित लोथर र राप्ती नदीको दोभान क्षेत्रबाट डार्ट गरी नियन्त्रणमा लिएको हो।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरामा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

शुक्रबार र आइतबार बाघले आक्रमण गरेर ज्यान लिएको दुई वटा शव फेला परेको थियो। सो स्थानमा शुक्रबार चितवनको राप्ती नगरपालिका १ दुवीचौरका ४३ वर्षीय हरि पौडेलको शव फेला परेको थियो।

आइतबार बाघ नियन्त्रणमा लिने क्रममा अर्का पुरुषको समेत शव फेला परेको तिवारीले जानकारी दिए। तर ती पुरुषको पहिचान हुन सकेको छैन। उनको कम्मरदेखि माथिको भाग बाघले खाइसकेको तिवारीले बताए।

बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस आर्थिक वर्ष बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। सोही संख्यामा बाघलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिएका बाघ यहाँ राख्ने ठाउँ नभएर पर्सा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ।

आइतबार नियन्त्रणमा लिइएको बाघलाई कहाँ पठाउने भन्ने यकिन नभएको तिवारीले जानकारी दिए। कसरामा चार र सौराहामा विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई बाघ राखिएको छ।

प्रकाशित: ११ मंसिर २०८० ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App