७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अझै छुटेनन् विपीन

फाइल तस्बिर

इजरायल र प्यालेस्टानी सशस्त्र समूह हमासबीच युद्धविरामको तेस्रो दिन घर्कंदा नेपाली विद्यार्थी विपीन जोशी छुटेका छैनन्। हमास समूहले तीनदिनमा दुई चरण गरेर ४१ जनालाई रिहा गरिसकेको छ।जसमध्ये २६ जना इजरायली, १४ जना थाइल्यान्ड र एकजना फिलिपिन्सका नागरिक समावेश छन्।तर, विपीनलाई भने हमासले अहिलेसम्म रिहा गरेको छैन।

कतार, इजिप्ट, अमेरिकालगायतका देश र विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको प्रयासमा इजरायल र हमासबीच २२ नोभेम्बर(बुधबार) चारदिनको अल्पकालीन युद्धविरामको सहमति भएको थियो।उक्त सहमतिमा तत्काल दुबै पक्षले एकअर्कामाथि हमला नगर्ने र एकअर्काको कब्जामा रहेका नागरिकलाईलाई रिहा गर्दै जाने सहमति भएको थियो।सहमतिअनुसार हमासले एकजना बन्धक इजरायली नागरिक छाड्दा इजरायलले आफूसँग कैदीबन्दी रहेका तीनजना प्यालेस्टाइनी नागरिक छाड्ने सहमति भएको थियो।जसमा हमासले आफूसँग रहेका २४० जना बन्धकमध्ये ५० जना इजरायली नागरिक छाड्ने र त्यसको सट्टा इजरायलले १५० जना प्यालेस्टाइनी नागरिक छाड्ने सहमति छ।जसमा बालबालिका र बृद्धबृद्धालाई प्राथमिकता दिइएको छ।हालसम्म हमासले २६ इजरायली नागरिक छाड्दा इजरायलले ७८ प्यालेस्टाइनी कैदीवन्दीलाई रिहा गरेको छ।

यद्यपी हमाससँग बन्धक रहेका विदेशी नागरिकको हकमा भने सहमतिमा कुनै कुरा उल्लेख छैन।तर कतारको मध्यस्थकर्ताका आधारमा हमासले विदेशी नागरिक छाडिरहेको छ।जसअनुसार नै हालसम्म १४ जना थाइ नागरिक र एकजना फिलिपिन्सका नागरिक रिहा भएका हुन।

विपीनको रिहाइका लागि नेपाल सरकारले कतारसँग नै बढी पहल गरिरहेको छ। अक्टोबर ७ बाट सुरु भएको इजरायल–हमास युद्धलगत्तै कतारले हमास समूहसँग सम्बाद् थालेको थियो।जसअनुसार ४ जना विदेशी नागरिक रिहा भएका थिए।सो लगत्तै नेपाल सरकारले पनि हमास समूहबाट विपीनलाई रिहा गराउनका लागि पहल गरिदिन कतारसँग सम्बाद थालेको थियो । तर हालसम्म नतिजा निस्केको छैन।

विपीनकै रिहाइको वातावरण मिलाउन नै परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीलाई नेपाल आमन्त्रण गरेको उनको नीजि सचिवालयले जनाएको छ उक्त निमन्त्रणापछि राज्यमन्त्री मुरैखी आफ्नो दुई दिने नेपाल भ्रमण सकेर फर्किसकेका छन्।उनीसँग भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री साउदले विपीनलाई रिहाका लागि पहल गरिदिन आग्रह गरेका थिए। जसमा राज्यमन्त्री मुरैखीले सक्दो भूमिका निर्वाह गर्ने आश्वासन दिएका थिए।

‘अहिले पनि परराष्ट्रमन्त्री ज्यु र मन्त्रालयस्तरबाट कतार सरकार र अन्य मध्यस्थकर्ता निकायसँग दिनहुँ कुराकानी भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले भने,‘इजरायल सरकार र नेपालस्थित इजरायली राजदूतसँग पनि विपीनको रिहाइको वातावरण बनाउन दबाब दिने काम भइरहेको छ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल विपीनको रिहा कहिले हुन्छ भन्ने विषयमा हालसम्म कुनै जानकारी नआएको बताउँछिन्।उनी भन्छिन्, ‘हाम्रा तर्फबाट प्रयास भइरहेको छ।तर उनी कहिले रिहा हुन्छन् ? त्यसको कुनै जवाफ कतैबाट आएको छैन।’

असोज २० (अक्टोबर ७) मा हमास समूहले इजरायलका आक्रमण गरेको थियो। आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। विपीन उक्त घटनापछि वेपत्ता भएका थिए।विपीन हमासको कब्जामा रहेको बताइन्छ।

प्रकाशित: १० मंसिर २०८० १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App