१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

मिडिया महोत्सव पुस २२ मा हुने

काठमाडौँ- नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।

महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ ।

लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको अनुभवबारे छलफल गरिने तथा सबै खाले विचार अटाउने सन्देश प्रवाह गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले आज आयोजित पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा ठूला सञ्चारमाध्यम तथा सरकारी सञ्चारमाध्यममा समाचार कक्ष र समाचार अन्तरवस्तुमा भाषाभाषी, जातजाति, लैंगिक विभेद र त्यहाँ कार्यरत पत्रकारको समस्याबारे पनि छलफल गरिने बताइएको छ ।

समावेशी नेपालमा बहुभाषिक पत्रकारिताको महत्व जगाउने तथा यसलाई संस्थागत रुपमा कसरी विकास गर्ने भन्ने बहसको केन्द्रबिन्दु हुने अध्यक्ष महर्जनले बताए ।

महोत्सवमा नब्बे वर्षअघि भारतको कोलकाताबाट नेपाल भाषामा पत्रिका प्रकाशन गरेका नेपाल भाषाका अग्रज पत्रकार धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारका रुपमा घोषणा गर्ने कार्यक्रम पनि रहेको दबुका महासचिव सुनिल महर्जनले बताए ।

उनका अनुसार धर्माचार्य र नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको तस्वीर अंकित पात्रो प्रकाशन गरिने तथा नेपाल भाषाका पुराना पत्रकारको जीवनी रहेको बुलेटिन पनि लोकार्पण गरिने छ ।

त्यस्तै ‘नेपाल भाषा’ दैनिकका सम्पादक सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार युवराज घिमिरे, बुद्धिजीवी सिके लालसँग अन्तक्र्रिया गरिनाका साथै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीको मन्तव्य प्रस्तुत हुनेछ ।

महोत्सवमा नेपाल भाषालगायत विभिन्न भाषाका पत्रपत्रिका, मैथिली भाषाको ‘अपन टिभी’, ‘नेपाल समाचारपत्र’ दैनिक, ‘नागरिक’ दैनिक, ‘कामना’ मासिकलगायत ३२ सञ्चारमाध्यमको कक्ष रहने दबुका उपाध्यक्ष सुरजवीर बज्राचार्यले जानकारी दिए ।

नेपाल संवत् ११३२ मा स्थापित दबु २५ जिल्लामा नेपाली पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन तथा मातृभाषाको पत्रकारिताको विकास गर्न क्रियाशील हुँदै आएको छ । रासस
 

प्रकाशित: १८ पुस २०७४ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App