५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उर्लाबारी आगलागी घटनामा घाइते थप एकको मृत्यु

कात्तिक २६ गते राति उर्लाबारीमा भएको आगलागी घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ। याेसँगै आगलागीको घटनामा घाइते भई उपचारका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको मोरङ प्रहरीले जनाएको छ।

उर्लाबारी नगरपालिका–७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार शनिबार बिहान ५ बजेतिर उपचारका क्रममा अस्पतालमा निधन भएको हो। कार्कीको निधनसँगै आगलागी घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको डिएसपी दाहालले बताए।

कार्कीको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेर गम्भीर अवस्थामा रहेका थिए। उनको आइसियु कक्षमा उपचार भइरहेको थियो। कीर्तिपुर अस्पतालको आइसियुमा अन्य ५ जना घाइतेको उपचार भइरहेको छ। यसअघि सोही ठाउँका ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र ४३ वर्षीय तपन पण्डितको मृत्यु भइसकेको छ।

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगलागी भएको थियो। सुनचाँदी पसलका सञ्चालक दीपक कार्कीले आफ्नै घरमा पसल सञ्चालन गरेका थिए।

कार्की स्वयम् पनि घाइते भई उपचारमै रहेका छन्। आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए। आगलागीमा परी घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो।

प्रकाशित: ९ मंसिर २०८० १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App