१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपाली युवामा कोरिया–सपना

भोजपुरका शम्भु राई करिब एक महिनापछि रोजगारीका लागि दक्षिण कोरिया जाँदै छन्। श्रम गन्तव्यमा जाने तयारी गरिरहँदा उनको अनुहारमा छाएको खुसी प्रस्ट देख्न सकिन्छ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने प्रक्रिया सम्भवतः सबैभन्दा व्यवस्थित छ। यसै कारण भाषा परीक्षाको तयारी गरी युवाहरू कोरिया जान इच्छुक हुने गरेका छन्।

‘म साँच्चै भाग्यमानी छु,’ राईले रोजगारीमा जाने निश्चित भएपछि खुसी हुँदै भने, ‘बिहे भएको करिब दुई वर्ष हुन लाग्यो। घरमा लक्ष्मी (छोरी) को आगमन हुँदै छ। लक्ष्मीले लक्ष्मीलाई नै डाक्छिन् भन्थे, त्यो आज पूरा भएको छ। घरमा छोरी जन्मिँदै छिन्, म भने सुन्दर देश कोरिया जाँदै छु।’

राईका निम्ति यो खुसी त्यत्तिकै आएको होइन। यसका निम्ति उनले निकै मेहनत गरेका छन्। ‘कोरिया जान धेरै मेहनत गरेपछि आज सफल भएको छु,’ उनले भने, ‘मैले कोरियन भाषा पढेको ७ वर्ष भयो। अब महिना दिन नपुग्दै कोरिया जाँदै छु। कोरिया जान पाउँदा अत्यधिक खुसी छु। धेरै लगावपछि फल प्राप्त भएको छ।’

घरको आर्थिक अवस्था सम्हाल्न पाँच वर्षअघि उनी कतार गएका थिए। कतार बसाइ उनका निम्ति चित्त बुझ्दो थिएन। त्यहाँ उनको संघर्ष धेरै, आम्दानी निकै कम थियो। भोजपुरका चिनजानका साथीभाइ कोरिया गएर धेरै प्रगति गरेका हुँदा राई त्यता जान आकर्षित भएका हुन्।

राईलाई खाडीमा दिनरात परिश्रम गरेर प्राप्त भएको आम्दानीले एक्लो ज्यान पाल्न पनि कठिन भएको थियो। ‘स्वदेशमा काम नपाइने, खाडी मुलुक जानेबाहेक विकल्प नै थिएन,’ उनले भने, ‘दुई वर्ष कतारमा बिताएँ। प्रगति भने शून्य थियो।’

उनले कोरिया जाने आफ्नो तयारीबारे बताए। ‘स्वदेश फर्किएर कोरियन भाषा पढें, पास पनि भएँ,’ उनले भने, ‘कोरिया जान ठिक्क परेको थिएँ। कोभिड महामारीले गर्दा सबै चकनाचुर भयो। कोरियाली भाषा पास भएपछि दुई वर्षभित्र गइसक्नुपर्थ्यो। त्यसको म्याद सकियो। कोरिया जाने चाहना सपनामै सीमित भयो।’

‘मरिसकेको त्यो सपनालाई फेरि जीवित पारें,’ उत्साहित हुँदै राईले भने, ‘अँध्यारो घर उज्यालोले भरिपूर्ण भएको छ। परिवारका सदस्यको अनुहारमा खुसी छाएको छ। घरमा पत्नी सुत्केरी हुन लागेको अवस्था छ । लक्ष्मीको आगमनमा सामेल त हुन सक्दिन्। तर, उनीहरूको खुसी खोज्दै कोरिया जान पाउँदा धेरै खुसी छु।’

इपिएसमार्फत राई ‘इनाइन’ भिसाद्वारा कोरिया जान लागेका हुन्। ‘पहिला धेरै दुःख पाएको थिएँ। अब सुखका दिन आएझैं लागेको छ। परिवारको खुसी नै मेरो खुसी हो। कोरिया गएर सकेको दुःख गर्छु।’ कोरियाली पुँजी र सिपलाई स्वदेशमा परिचालन गर्ने आफ्नो उद्देश्य रहेको राईले बताए।

राईजस्तै कोरिया प्रस्थान गर्ने क्रममा रहेका नाम उल्लेख गर्न नचाहने डडेलधुराका २५ वर्षीय अर्का युवाले परिवारको जीवनस्तर उकास्न कोरिया रोजेको बताए। ल्याब टेक्निसियन ती युवाले साथीभाइ कोरियामा रमाएको र कमाएको देखेपछि प्रभावित भएको प्रतिक्रिया दिए।

‘कोरियन भाषा पास भएको वर्ष दिनपछि कोरिया जाने तयारीमा छु,’ उनले भने, ‘कोरिया जान पाउँदा धेरै खुसी छु, परिवार पनि खुसी छन्। कोरिया जाने वर्षौंअघिदेखिको सपना थियो। त्यो पूरा भएको छ। दुईचार वर्ष कोरियामा काम गरेपछि वर्कर भिसा लगाइदिन्छ। पैसा पनि भनेझैँ हुन्छ। त्योभन्दा के चाहियो ?’ उनले थपे, ‘यहाँ युरोप, युएस र अस्ट्रेलियाका सपना देख्छन्। उतै जान्छन्, उतै हराउँछन्। देशप्रति माया हुँदैन। कोरिया गएका श्रमिकले कमाएको सबै सिप र पुँजी स्वदेश ल्याई परिचालन गर्छन्। त्यसमा मलाई गर्व छ।’

उनी पनि राईजस्तै कोरिया जाने खुसीले मग्न थिए। त्यहाँ कमाएको पुँजीका साथै ज्ञान, सिप र प्रविधि ल्याएर नेपालमा नै उद्योग खोल्ने उद्देश्य रहेको दुवैले बताए।

नेपाली युवाको आकर्षक गन्तव्य मुलुक हाल कोरिया बन्दै आएको छ। इपिएसको अन्तिम चरण अर्थात् सिसिभिआईको फारम बुझाउन मंगलबार इपिएस कार्यालय पुगेका युवाहरूको अनुहारमा छुट्टै चमक थियो।

एपिएसका निर्देशक गुरुदत्त सुवेदीका अनुसार कोरियामा परिश्रमअनुसारको फल पनि प्राप्त हुन्छ। कोरिया पुगेका युवाको न्यूनतम पारिश्रमिक दुई लाख नेपाली रुपैयाँभन्दा बढी हुन्छ। केही समयपछि त्यहाँ काम गर्ने युवाको पारिश्रमिक ५ लाखभन्दा बढी हुने गरेको निर्देशक सुवेदीले बताए।

‘उच्च मनोबल तथा लगनशील र परिश्रमी व्यक्तिहरूका लागि कोरिया उपयुक्त देश हो। जीवन जिउने कला सिकाउने देश हो कोरिया,’ उनले भने, ‘नेपालीहरू कोरियाका विभिन्न प्रान्तमा छरिएर रहेका छन्। इपिएस कामदारहरू खास गरी उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन्।’

सुवेदीले कोरियामा सर्वसाधारण मात्र होइन, सरकारी सेवामा कार्यरत व्यक्तिहरूसमेत जाने गरेको बताए। उनीहरू भाषा परीक्षामा संलग्न हुने र उत्तीर्ण भएपछि सरकारी पदमा राजीनामा दिई बिदेसिने गरेका पाइन्छ।

कोरिया जाने युवाहरूको उमेर अनुसार ४ देखि ६ हजार रुपैयाँ बराबरको बिमा गर्ने गरेको जानकारी सुवेदीले दिए। ‘बिमापछि कोरियामा कुनै युवाको मृत्यु भए १४ लाख रुपैयाँ क्षतिपूर्ति आउँछ। बिमा गरेपछि युवाहरू सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगारी बोर्डको कल्याणकारी कोषमा पनि आबद्ध हुन्छन्,’ निर्देशक सुवेदीले भने।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाका लागि पहिलो उडान सन् २००८ मा ५५ कामदारसहित भएको थियो। इपिएसको तथ्यांकअनुसार हालसम्म १ लाख ५ हजारभन्दा बढी कामदार इपिएसमार्फत कोरिया प्रवेश गरेका छन्।

इपिएस अन्तर्गतका कामदारमध्ये करिब १० हजार कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन्। दक्षिण कोरियामा हाल विभिन्न भिसामा धेरै संख्यामा नेपालीहरू रहेका छन्। इपिएस अन्तर्गत कोरिया जान बर्सेनि हजारौं आकांक्षीले दरखास्त भर्ने गर्छन्। जसमध्ये बर्सेनि ७/८ हजारले रोजगारीको अवसर पाउने गरेका छन्।

प्रकाशित: ६ मंसिर २०८० १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App