४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ जनगणना अनुसार राष्ट्रिय सभा चुनावका लागि मत भार तोकियो

निर्वाचन आयोगले नयाँ जनगणना अनुसार राष्ट्रियसभाको मत भार तोकेको छ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदभार २०८० फागुन २० गते सकिन लागेकाले नयाँ चुनावका लागि आयोगले मत भार तोकेको हो।

संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि फागुन २० मा सकिन लागेकाले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।

राष्ट्रिय जनगणना २०७८ सम्पन्न भई जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भइसकेकाले प्रयोजनका लागि ऐन बमोजिम राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिस समेतका आधारमा मत भार तोकिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मत भार कायम हुने गरी तोकिसकेको छ। आयोगले मंसिर ०६ गते मत भार तोक्ने निर्णय गरेको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मत भारको व्यवस्था छ।

मत भार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसंख्यालाई आधार मानी कायम गर्नुपर्ने हुन्छ।

प्रकाशित: ६ मंसिर २०८० १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App