२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमावर्ती बजारमा अपमानित हुँदै नेपाली उपभोक्ता

किनमेलका लागि भारतीय बजार रुपैडिया जान जमुनाह पुगेका नेपाली उपभोक्ता।तस्बिर: गणेश/नागरिक

दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रुपैडिया पुगेकी हरिकला दमाईले मोबाइल हराइन्।उनले जहाँ जहाँबाट सामान किनिन् त्यहाँ त्यहाँ गएर सोधपुछ गरिन् र सिसी टिभी चेक गर्न अनुरोध गरिन्। 

त्यति धेरै अनुरोध गर्दा उनले पसलेबाट सहयोग होइन उल्टै अपमानित व्यवहार सहनु प¥यो । अपमानित हुनुभन्दा उनी मोबाइल माया मारेर रुँदै घर फर्किइन् । यति मात्र होइन, भारतीय बजार रुपैडिया पुग्ने नेपाली उपभोक्ताले त्यहाँका व्यवसायीबाट अपमानित हुनु परेको गुनासो गरेका छन्।

नेपाली उपभोक्ताको भरमा चलेको रुपैडिया बजारका व्यवसायीले व्यावसायिक व्यवहार नदेखाएको नेपाली उपभोक्ताको भनाइ छ । ‘मेरो मोबाइल हराएर खोज्दा मैले ठूलो अपमान सहनु प¥यो,’ हरिकलाले भनिन्, ‘सामान खरिद गरेको पसलेले सिसी क्यामेरा हेर्दिन पनि मानेनन्।

उल्टै चोरीको आरोप लगाउने भन्दै हप्काए ।’ कतिपय व्यवसायीले भने अपशब्द प्रयोग गर्ने गरेको नेपाली उपभोक्ता हरि खत्रीले जनाए । ‘सामान खरिदको लागि पसलमा पुगेको थिएँ,’ उनले भने, ‘मिलाउनुस्, अरु धेरै सामान लिनु छभन्दा उनी ममाथि खनिए ।’ महँगो मानेर सामान नकिनेर फर्किँदा पसलेले अपशब्द प्रयोग गरी गाली गरेको उनको भनाइ छ । ‘किन गाली गरेको भन्दा झन्डै हात हालाहालको स्थितिसम्म पुगेको थियो,’ उनी भन्छन्, ‘पछि फेरि आफैँ संयम भएँ ।’ भारतीय व्यवसायीबाट नेपाली हेपिँदै आएको उनको भनाइ छ।

सीमावर्ती बजारभन्दा नेपालगन्जमा तीन÷चार गुणासम्म सामान महँगो हुँदा रुपैडिया किनमेलका लागि जाने नेपाली उपभोक्ताको संख्या धेरै छ।केही सामानको मूल्यमा थोरै फरक भए पनि अधिकांश सामानमा तेब्बरभन्दा बढी मूल्यको अन्तर हुने नेपाली उपभोक्ताले जनाए।भन्सार तिरेर ल्याएको सामान नेपाली बजारमा बिक्री गर्दा केही महँगो हुनु स्वाभाविक भए पनि यता (नेपालगन्ज) का व्यापारीले चर्को मूल्य लिँदा अपमान सहँदै रुपैडिया पुग्नु पर्ने बाध्यता रहेको नेपाली उपभोक्ता सुनिता थारुले जनाइन्।नेपालगन्जमा महँगी नआकासिएको भए रुपैडिया जानै मन थिएन,’ उनी भन्छिन्, ‘के गर्ने यहाँ (नेपालगन्ज) सामान किन्नै सकिँदैन।पारि (रुपैडिया) नगई हुँदैन।’ सस्तो मूल्यका लागि अपमानित भएर पनि किनमेल गर्नु परेको उनको भनाइ छ।

नेपाली उपभोक्ताहरूलाई गाली गरेर रुपैडियाको व्यापार नफस्टाउने भन्दै व्यावसायिक आचरण देखाउनु पर्ने नेपाली उपभोक्ताले बताएका छन् । ‘पहिला सामान हेर्न आउनुस्, यहाँ सबै सामान पाइन्छ भन्दै हिँडिरहेको मान्छेलाई तानातान गर्छन्,’ बाँस गढीबाट किनमेलका लागि रुपैडिया आएकी संगीता खड्काले भनिन्, ‘मूल्य मिलाउन खोज्दा र सामान मन नपरेर लिन नमान्दा अपमान गर्छन।’ नेपाली उपभोक्ताले भारतीय व्यवसायीले माग्न आएको जस्तो व्यवहार देखाउने गरेको उनी बताउँछिन्।

नेपाली उपभोक्ता सामान किन्न रुपैडिया नजाने हो भने भारतीय व्यापारी आफैँ सुध्रिने भन्दै उनले भनिन्, ‘म त अब रुपैडिया कहिल्यै जाँदैन । अरूलाई पनि नजान भन्छु । नेपाली उपभोक्ताको मात लागेका भारतीय व्यवसायीको व्यवहार अपमानित भएकाले सम्मानित रूपले आफ्नै सहर तथा बजार क्षेत्रमा किनमेल गरौँ ।’ नेपाली बजारमै किनमेल हुँदा त्यस्तो अपमान सहनु नपर्ने नेपालगन्जका व्यवसायी विक्रम पुनले जनाए । ‘नेपालगन्जमा पनि उपभोक्ताले धेरै मूल्य घटाएर सामान किनमेल गर्छन,’ उनले भने, ‘तर, हामीले त कहिले पनि उपभोक्तालाई अपमान गरेनौँ।’

दैनिक हजारौँको संख्यामा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया किनमेलका लागि जान्छन् । एक जनाले न्यूनतम पाँच हजारको सामान नेपाल भित्रायाउने गरेको बताइएको छ । धेरै नेपालगन्जका धेरै उपभोक्ताले दैनिक उपभोग्य सामान रुपैडियाबाट नै खरिद गर्छन।महिनामा एक पटक जाने र महिनाभरिले पुग्ने गरी सामान ल्याउने चलन छ । बाँकेसँगै बर्दिया, सुर्खेत र दाङबाट समेत नेपाली उपभोक्ता किनमेलका लागि रुपैडिया पुग्छन् ।

प्रकाशित: ४ मंसिर २०८० ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App