८ असार २०८१ शनिबार
image/svg+xml
समाज

पुर्ख्याैली पेसाबाट आम्दानी गर्दै अर्जुन

तनहुँको बन्दीपुर गाउँपालिका-२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे। वैदेशिक रोजगारमा सोचेअनुरूप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए। स्वदेश फर्किएपछि उनले पुख्र्यौली आरन पेसालाई अगाडि बढाए।

गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।

आरन पेसाबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी भइरहेको गजमेरले बताए। साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भई पुर्खाले गर्दै आएको आरन पेसा सञ्चालन गरेको उनले बताए।

“विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुर्व्यवहार खेप्नुपरेको अनुभव छ। मैले स्वदेश फर्किएपछि पुर्ख्याैली पेसालाई सुरु गर्ने सोच बनाएँ। अहिले वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुन्छ”, गजमेरले भने।

गत वर्ष मात्रै पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अङ्कित आरन व्यवसाय दर्ता गरेको उनले बताए।

आरन व्यवसाय सञ्चालनका लागि गोल सिद्धथान, देवीथुम्का र पार्चे सामुदायिक वन उपभोक्ता समितिका साथै स्थानीय व्यक्तिको सहयोग लिंदै आएको गजमेरको भनाइ थियो।

हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बञ्चरो, खुँडा, तरबार, खुकुरी, करौंती, फाली, करुवा, बसिला, छिनो, चिम्टा लगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्चप्ने काम गर्दै आएको उनले बताए।

सिजनमा दैनिक छ/सात हजार रुपैयाँ आम्दानी गर्ने गजमेरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारी समेत दिएका छन्। आरन पेसाबाटै भएको आम्दानीबाट घरव्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ।

गजमेरले भने, “यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु।”

सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको उनको भनाइ थियो।

यहाँ उत्पादित कृषि औजार खुर्पा दुई सयदेखि दुई हजार पाँच सय, कुटो पाँच सय, कोदालो आठ सयदेखि दुई हजारसम्म, बञ्चरो एक हजारदेखि दुई हजार पाँच सयसम्म, खुँडा एक हजार पाँच सयदेखि आठ हजारसम्म, बसिला पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको गजमेरले बताए।

पुराना औजार मर्मतका लागि एक सय ५० र अर्चपेको ६० रुपैयाँ लिने गरेको उनले बताए।

“आरन पेसा हाम्रो पुर्ख्याैली पेसा हो। गाउँमा आरन पेसा लोप हुँदा गाउँलेले समेत दुःख पाएका थिए”, गजमेरले भने, “मैले यो पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु।”

यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए।

उनले भने, “किसानले सुविधा खोज्छन्। म किसानकै घरदैलोमा गई सेवा दिंदै आएको छु। यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ।”

सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन्।

उनले भने, “टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ। उहाँहरूले कृषि औजार खरिद गरेर लैजानुहुन्छ।”

गाउँपालिकाले एक लाख रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरेको गजमेरले बताए।

वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरूप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।

त्यस्तै आरन संरक्षण तथा प्रवर्द्धनका लागि ४० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए।

प्रकाशित: ३ मंसिर २०८० ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App